प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा आफ्नो नेतृत्वको सरकार दृढतापूर्वक प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं तथा नयाँ दिल्लीस्थित युराेपेली संघ (इयू) र यसका सदस्य राष्ट्रका राजदूतहरू तथा काठमाडौंस्थित विभिन्न मुलुकका राजदूतसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिको गम्भीरता र सरकारलाई प्राप्त जिम्मेवारीप्रति आफू पूर्णरूपमा सचेत रहेको बताएका हुन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन, पारदर्शिता र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै लोकतान्त्रिक मूल्यमान्यता, राजनीतिक स्थिरता र अनुमानयोग्य नीतिगत वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।
उनले सुशासन र समावेशी आर्थिक वृद्धिलाई सरकारको मुख्य प्राथमिकताका रूपमा अघि बढाइने उल्लेख गर्दै विश्व बजारसँगको सहकार्य, वैदेशिक लगानी आकर्षण, नवप्रवर्तन प्रवर्द्धन तथा दिगो विकासमार्फत जनताका लागि नयाँ अवसर सिर्जना गरिने बताए ।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने स्पष्ट पार्दै छिमेकी मुलुक, विकास साझेदार तथा मित्र राष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका आधारमा अघि बढाइने बताए ।
उनले नेपालको विकास र समृद्धिमा सहयोग पुर्याउँदै आएका विकास साझेदार तथा मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न सरकार इच्छुक रहेको बताए ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सैन्य टकरावभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनमार्फत शान्ति स्थापना गरिनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा इयू तथा विभिन्न मुलुकका राजदूतले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै नयाँ सरकारलाई बधाई दिएका थिए । उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिका क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी विस्तार गर्न आफूहरू तयार रहेको बताएका थिए ।