प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदमा जवाफ माग्दै साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको हालैको मुस्ताङ भ्रमणबारे संसदमा जवाफ दिन माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री पदमा रहेपछि व्यक्तिगत भनिएको भ्रमणसमेत सार्वजनिक सरोकारको विषय बन्ने बताएका हुन्। उनले प्रधानमन्त्रीको ‘निजी भ्रमण’ भनिएको मुस्ताङ यात्राबारे मन्त्रिपरिषद् र संसदलाई जानकारी गराइएको थियो कि थिएन भन्ने स्पष्ट पार्न सरकारसँग माग गरे।

‘प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन। यो कुरा हेक्का राख्नुपर्छ,’ साम्पाङले भने।

प्रधानमन्त्री एक्लै भ्रमणमा नजाने र भ्रमणका क्रममा सुरक्षा संयन्त्रसमेत परिचालित हुने भएकाले भ्रमणको उद्देश्यबारे संसदलाई जानकारी गराउनुपर्ने उनको तर्क थियो।

साम्पाङले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई लिएर व्यंग्यात्मक शैलीमा प्रश्नसमेत उठाए। ‘के खान जानुभएको हो? मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले। के चाख्न जानुभएको हो, यो कुरा पनि उहाँले भन्नुपर्छ,’ उनले भने।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै साम्पाङले सरकारको विकास निर्माण र सुशासनसम्बन्धी कामप्रति समेत असन्तुष्टि जनाए।

उनले मुलुकमा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन तथा सुशासन कायम गर्न सरकारले पर्याप्त ध्यान दिन नसकेको आरोप लगाए। सरकारको प्राथमिकता र कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले विकास र सुशासनका विषयमा थप गम्भीर हुनुपर्ने धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *