विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले अहिले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर खोजी, उद्धार र राहतमा जुट्नुपर्ने समय रहेको बताए।

उनले पछिल्ला बाढी, पहिरो लगायतका विपत्तिलाई सामान्य प्राकृतिक घटना मात्र भनेर बुझ्न नहुने धारणा राखे। जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थाका कारण विपत्तिको प्रकृति र प्रभाव गम्भीर बन्दै गएको भन्दै उनले दीर्घकालीन जोखिम न्यूनीकरणका लागि वैज्ञानिक, प्राविधिक र नीतिगत अध्ययनसहित राष्ट्रिय रणनीति आवश्यक रहेको बताए।

तर तत्कालको प्राथमिकता भने नागरिकको जीवन बचाउनु रहेको प्रचण्डको भनाइ छ। खोजी, उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र साझा कार्ययोजना आवश्यक रहेको उनले बताए।

हिमाली क्षेत्रमा विपत्तिको जोखिम र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिए। जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली मुलुकका लागि जलवायु न्याय, क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको विषयलाई नेपालले सशक्त रूपमा उठाउनुपर्ने उनको धारणा छ।

विपत्तिका बेला राजनीतिक मतभेदलाई केही समय थाती राखेर राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने बताउँदै प्रचण्डले कोशी बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका विपत्तिमा नेपाली समाज र राजनीतिक शक्तिले एकताबद्ध भएर सामना गरेको स्मरण गरे।

रसुवाको भोटेकोशी बाढीबाट सिर्जित संकटबाट पार पाउन आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने उनले बताए। पार्टीले उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकायसँग समन्वय गरी पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिइसकेको जानकारी पनि उनले दिए।

प्रचण्डले विपत्तिको समयमा सबैले साझा संकल्प गर्नुपर्ने भन्दै भने, “विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *