स्र्माट सिटीको अवधारण लिएर अघि बढेको स्याङ्जाको वालिङ नगरपालिकाले फोहोरमैला व्यवस्थापनसँगै आम्दानीको रुपमा विकास गरेको छ । फोहोर नदी, किनारमा थुपार्ने कार्यले वातावरण दुषित भएपछि स्थानीयबासीबाट चर्को विरोध भइरहदा नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतको रुपमा विकास गर्यो । जसले फोहोरमैला व्यवस्थापन सिकाई केन्द्रको रुपमा विकास भयो ।
वालिङ नगरपालिकाले २०७२ बाट फोहोरमैला व्यवस्थापनको अभियान सुरु गरेको हो । नगरपालिका र दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाबिच फोहोरमैला व्यवस्थापनको चारखम्बे अवधारणा अनुसार २०७१ असोजमा सम्झौता भएको थियो । चार वर्षे सम्झौता सकिएपछि नगरपालिका आफैँले अहिले व्यवस्थापन गर्दै आइरहेको छ । फोहोरमैलाका क्षेत्रमा अन्य ठाउँमा निजी क्षेत्रसँगको साझेदारीमा काम भइरहेको तथा पछिल्लोसमय नगरपालिका आफैँले व्यवस्थापन गर्दै आएको सहायक प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताए । फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेपछि देशका विभिन्न पालिका तथा फोहोरमैला क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्था अध्ययनका लागि आउने गरेका छन् ।
हालसम्म फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने ५ सयभन्दा बढी विभिन्न संस्थाले अध्ययन तथा अवलोकन गरेको वालिङ नगरप्रमुख कृष्ण खाँणले बताए । फोहोरमैला व्यवस्थापनको लागि डम्पिङ साइड नहुदाँ समस्या झेल्दै आएका पालिकाले वालिङलाई सिकाईको रुपमा लिएका छन् । डम्पिङ साइड नजिकैका स्थानीयले विरोध गरेका उदाहरण पनि प्रशस्तै छन् । फोहोरमैला व्यवस्थापन चुनौतीका रूपमा देखिरहेका बेला त्यसको व्यवस्थापनबारे वालिङ आएर अवलोकन गरेपछि आ–आफ्नो ठाउँमा कार्यान्वयन गर्ने संघसंस्था बढी रहेको दावी वालिङ नगरपालिकाको छ । वालिङको फोहोरमैला व्यवस्थापनमा चासो देखाउने सामाजिक अभियान्ता अनन्तकूमार श्रेष्ठले वालिङमा कसैले विश्वासन नगर्दानगर्दै पनि फोहोर व्यवस्थापनमा फड्को मारेको बताए । वालिङ नगरपालिकाले हालै पनि दैनिक दुई वटा ट्याक्टर घरदैलोमा पठाउँछ । घरबाट नै कुहिने र नकुहिने गरी फोहोर छुट्याइन्छ । नपाको गाडीमा कुहिने र नकुहिने छुट्टाछुट्टै फोहोर संकलन गर्दै आएको नगरप्रमुख खाँणले बताए । यस्तै, सिसाजन्य फोहोर महिनामा एकपटक संकलन गरिने नपाले जनाएको छ । फोहोरलाई ६ तहमा वर्गीकरण गरिएको छ । नगरपालिकाले गरेको फोहोरमैला व्यवस्थापनको शुरुआती चरणदेखि हालसम्मका प्रक्रियाका बारेमा वाणगङ्गामै पुगेर सरोकार पक्षलाई प्रशिक्षण दिदै आएको नपाका सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेले बताए ।
उनका अनुसार नगरपालिकाले फोहोरमैलाका क्षेत्रमा गरेको व्यवस्थापनबारे अध्ययन–अवलोकन भ्रमणमा आउने समूह र सङ्घसंस्थालाई सरसफाइ केन्द्रमै लगेर देखाउने र व्यवस्थापनका पाटामा भएका उपलब्धिबारे जानकारी दिने गरिएको छ । नगरपालिकाका विशेष गरी बजार क्षेत्रका वडामा गठन गरिएको सरसफाइ उपसमितिले आआफ्ना टोलमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाइकर्मी नियुक्त गरी सरसफाइ अगाडि बढाइएको शाखा प्रमुख पाण्डेले बताए । नगरपालिका आफैँ वा नागरिकको प्रत्यक्ष संलग्नतामा फोहोरमैला सङ्कलन, वर्गीकरण तथा व्यवस्थापन हु“दै आएको छ । कुहिने, नकुहिने र सिसाजन्य फोहोर संकलन गरी ‘इन्डस्ट्रियल बेस’ मा लगी कुहिनेबाट कम्पोस्ट मल बनाउनु, सरकारी स्वामित्व वा सरकारको अगुवाइ रहने गरी सेवामा आधारित हुनु र अधिकतम प्रविधिको प्रयोग गरी पुनः प्रयोग गर्नुले नै वालिङ फोहोरमैला व्यवस्थापनका क्षेत्रमा पृथक अनि अब्बल भएको दाबी पाण्डेको छ ।
देशका विभिन्न शहरमा फोहोरमैलाको उचित व्यवस्थापन नभएको समयमा वालिङले हालसम्म ३० लाख आम्दानी गरेको छ । वार्षिक ५ लाख रुपैया आम्दानी हुने नपाका सापकोटाले बताए । ‘व्यवस्थापन राम्रो गर्न सके फोहोर समस्या होइन आम्दानी पनि बन्दो रहेछ’ सापकोटाले भने, ‘यसमा अझै थप सुधार गर्दै अघि बढ्छौ ।’ कारखाना सञ्चालनमा आएपछि यो नेपालकै एक मात्र एकीकृत फोहोर प्रशोधन केन्द्र बन्ने छ । नगरपालिका फोहरमैलाका क्षेत्रमा पटकपटक पुरस्कृत भइसकेको छ । कुहिनेलाई कम्पोस्ट मल र नकुहिनेलाई वर्गीकरण गरेर बिक्री गरिन्छ । यस्तै, ‘बेष्ट रिसोर्स म्यानेजमेन्ट सेन्टर’ मा नै दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा ल्याइएको छ । दिसाजन्य लेदो व्यवस्थापन शहरी क्षेत्रमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि कारखाना निर्माण गरी सञ्चालनमा ल्याइएको छ । घरघरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुला ठाउ“मा लगेर आफूखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित भएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको नपाले जनायो । ५ हजार ५ सय रुपैयाँ लिएर नपाले घरको सेफ्टी टेङकी खाली गर्दिन्छ । उक्त दिशाजन्य लेदो मेसिनमा राखेर पानी र लेदो छुट्याउछ । पानी वालुवामा सोसिएपछि बाँकी लेदोलाई प्लाष्टिकमा प्याकिङ गरेर विक्री गरिने सापकोटाले बताए ।
उनका अनुसार दिसाजन्य लेदोबाट मात्रै डेढलाख रुपैयाँ आम्दानी भएको छ । नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्यास र कम्पोस्ट मल बनाइनाका साथै त्यहाँबाट निस्केको पानी प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाइएको छ । नगरपालिकाले नेपाल नगरपालिका सङ्घसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन तथा राष्ट्रिय योजना आयोग, सङ्घीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एन्ड मेलिन्दा फाउन्डेसनका सहयोगमा एकीकृत फोहोर व्यवस्थापन कार्यक्रम अन्तर्गत कारखाना निर्माण गरी सञ्चालनमा ल्याएको हो । दिसाजन्य लेदोको लागि नपाले दुईवटा मेसिन ल्याउदै छ ।
