भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीमा भएको द्विपक्षीय भेटवार्तापछि भारतले उक्त सहयोग घोषणा गरेको हो ।
भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेका हुन् ।
भारतले उपलब्ध गराउने उक्त सहयोगमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ५६ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराइनेछ भने बाँकी रकम सहुलियतपूर्ण ऋणका रूपमा प्रदान गरिनेछ ।
यसअघि नेपालले भारतसँग १ खर्ब रुपैयाँ अनुदान र १ खर्ब रुपैयाँ ऋण गरी कुल २ खर्ब रुपैयाँ सहयोग माग गरेको थियो। भारतले नेपालले माग गरेकोभन्दा ४० अर्ब रुपैयाँ बढी सहयोग घोषणा गरेको हो ।
गत अगस्टमा आएको विनाशकारी बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावित समुदायको पुनःस्थापना तथा दीर्घकालीन विकासमा उक्त सहयोग उपयोग हुने बताइएको छ ।
प्रधानमन्त्री शाहले प्राकृतिक विपत्तिका बेला भारतले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई पारस्परिक सम्मान, विश्वास र सहकार्यका आधारमा थप मजबुत बनाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा आर्थिक सहयोगसँगै पूर्वाधार, ऊर्जा, यातायात, शिक्षा तथा अन्य विकासका क्षेत्रमा समेत दुई देशबीच सहकार्य विस्तार गर्ने समझदारी भएको छ ।




