डेँगुबाट गण्डकी प्रदेशमा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा दुई र तनहुँमा एक जनाको मृत्यु भएको छ । प्रदेशभर डेँगु संक्रमितको संख्या २ हजार ७ सय ५ पुगेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार डेँगुका विरामीको संख्या बढ्दो क्रममा छ । प्रदेशका एघार जिल्लामध्ये तनहँु उच्च जाखिममा रहेको छ । त्यसपछि कास्की उच्च जोखिममा छ । तनहुँको आवुँखैरेनी र दमौली अस्पताल साथै कास्कीका विभिन्न अस्पताल डेँगु विरामीले भरिभराउ रहेको निर्देशनालयले जनाएको छ ।
तथ्यांक अनुसार सवैभन्दा बढी तनहुँमा १ हजार २ सय ४ संक्रमित छन् । यस्तै, डेँगुबाट संक्रमित हुनेको संख्या कास्कीमा ९ सय ३३ पुगेको छ ।
यसैगरी, पर्वतमा डेँगु संक्रमितको संख्या १ सय ७० पुगेको छ भने गोरखामा ९३, स्याङ्जामा ९२, बाग्लुङमा ७६, लमजुङमा ५६, म्याग्दी ४९ र पूर्वी नवलपरासीमा ३० पुगेको छ । हिमाल पारीको जिल्ला मनाङमा पनि २ जनामा डेँगु देखिएको छ । मुस्ताङलाई भने हालसम्म डेँगुले नछोएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयको तथ्यांक अनुसार गत जनवरीबाट देखिन थालेको डेँगुुबाट सोही महिना ७० जना संक्रमित भए । त्यसपछि क्रमशः फेब्ररी र मार्चमा घटेर ११ र १४ पुगेको डेँगु उकालो लागेको स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । अप्रिलमा २९, मेमा ३९, जुनमा ९१ जनालाई लागेको डेँगु जुलाईमा ७ सय १५ जनालाई देखिएको थियो । अगष्टमा मात्र एक हजार ७ सय ३२ जनालाई डेँगु देखिएको बताउँदै खड्काले यसको जोखिम बढ्दो रहेको बताए ।
डेँगु रोकथामका लागि प्रदेश सरकारले जिल्ला अस्पताल तथा सरुवा रोग अस्पतालमा बजेट, किट र जनशक्तिको व्यवस्था गरिएको निर्देशक खड्काले बताएका छन् । घाम लाग्दा यसको जोखिम कम हुने र नियमित बर्षाले डेँगु संक्रमितको संख्या बढ्ने उनले बताए ।
‘विगतको भोगाई र सरकारको कार्ययोजना अनुसार हामीले गत चैतबाट नै यसतर्फ सचेत थियौ’ उनले थपे, ‘भाइरस भएको लामखुट्टेको टोकाइले डेँगु लाग्ने हो यसबाट बच्न सवै जना सचेत हुनुपर्छ । सरकारले मात्र ध्यान दिएर पुग्दैन् ।’
सशस्त्र प्रहरी वल कालिका गण कास्कीले डेँगु महामारीकोरुपमा फैलिन नदिनको लागि सरोकारावाला निकाय, स्थानीय र जनप्रतिनिधिसंग मिलेर सरसफाई अभियान संचालन गर्ने गणपति अरुण शर्माले जानकारी दिए ।