किशाेरी अभियान्ता : आवाज र समयकाे बदलाव

Share this post :

Facebook
Twitter
WhatsApp

नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका-१५ की रितु घर्ती मगर केवल एक विद्यार्थी मात्र होइनन्, बदलिँदो समयकी प्रतिनिधि किशोरी अभियान्ता हुन् । श्री नवजागरण बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत रितु अहिले किशोरी सशक्तीकरण कार्यक्रममा साथी शिक्षकका रूपमा सक्रिय छिन् ।

उनकाे जन्म एउटा सामान्य परिवारमा भएकाे थियाे । दाजुभाइ नभएकी रितुकी एक बहिनी छन् ।

समाजले “छोरा छैन, छोरीले के नै गर्छे र ?” भन्ने प्रश्न बारम्बार दोहोर्‍याउँदा उनी त्यही सोचसँगै हुर्किइन् । तर ती शब्द उनका लागि सामान्य थिएनन् । “ती शब्द वाक्य मात्र थिएनन्, सोच थिए, जसले छोरीको क्षमतालाई सीमित देख्थ्यो” उनी भन्छिन् ।

उनका आमा–बुबाले भने त्यो सोच कहिल्यै स्वीकारेनन् । “हाम्रा लागि छोरा–छोरी भन्ने भेद छैन, तिमीहरू नै हाम्रो सहारा हौ,” भन्ने हौसलाले रितुलाई बलियो बनायो । यही विश्वास उनको शक्तिको स्रोत बन्यो । समाजका केही तिक्त अनुभवले उनलाई झुकाएन, झन् दृढ बनायो ।

छोरीले पनि परिवर्तन सम्भव छ भन्ने उदाहरण बन्न उनी किशोरी सशक्तीकरण अभियानमा जोडिइन् । “मेरो उद्देश्य स्पष्ट थियो, किशोरीलाई आफ्ना अधिकार, आत्मसम्मान र क्षमताबारे सचेत गराउनु” उनी बताउँछिन् । सही र गलत छुवाइ, लैङ्गिक समानता, नेतृत्व विकास, आत्मसुरक्षा र मानसिक स्वास्थ्यजस्ता विषयमा उनले गहिरो अध्ययन र प्रशिक्षण लिइन् । घरायसी प्याड बनाउने सीप सिकेर आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश पनि दिइन् ।

आज उनी विभिन्न विद्यालय, आमा समूह र समुदायमा पुगेर सिकेका सीप र आत्मरक्षाबारे प्रशिक्षण दिँदै आएकी छिन् । आफ्नै वडा मात्र होइन, अन्य वडा र नगरपालिकासम्म पुगेर किशोरीको आवाज बुलन्द बनाइरहेकी छिन् ।

रितु हाल जिल्ला बाल सञ्जाल नवलपुरको सह–सचिवका रूपमा कार्यरत छिन् । त्यहाँबाट बालअधिकारको वकालत गर्दै बालबालिकाको नेतृत्व विकासमा योगदान दिँदै आएकी छन् । प्रशिक्षणमै सीमित नभई, सम्बन्धित निकायलाई किशोरी तथा बालबालिकाका मुद्दामा ध्यान दिन निरन्तर ध्यानाकर्षण गराउँदै आएकी छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री र कृषि, भूमि तथा सहकारी मन्त्रीसमक्षसमेत बालअधिकार र किशोरीका विषय उठाएको अनुभव उनीसँग छ । आफ्नै नगरप्रमुख र वडाध्यक्षसमक्ष पनि किशोरीका मुद्दा राख्दै आएकी छिन् ।

उनको यही निरन्तर सक्रियताले उनलाई Glocal Teen Hero Nepal 2025 (20 Under 20) मा छनोट हुने अवसर दिलायो । जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरका कार्यक्रममा सहभागी हुनु उनका लागि उपलब्धिमात्र होइन, जिम्मेवारी पनि हो ।

सामाजिक अभियानसँगै सञ्चार क्षेत्रमा पनि उनको पाइला अघि बढेको छ । नवलपुरस्थित दर्पण एफ.एम. ९९.२ मा रिपोर्टरका रूपमा कार्यरत रितु सञ्चार माध्यममार्फत किशोरी तथा बालअधिकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएकी छिन् ।

रितुको यात्रा केवल व्यक्तिगत संघर्षको कथा होइन; यो समाजमा बदलिँदो सोच र समयको संकेत हो । छोरीलाई सीमित देख्ने सोचलाई चुनौती दिँदै उनी प्रमाणित गरिरहेकी छन्, अवसर र विश्वास पाए छोरीहरू परिवर्तनका अग्रदूत बन्न सक्छन् ।

बालिका तथा किशोरी अधिकारको वकालत गर्दै आइरहेकी ऋतुले  बालिका सिकाइ तथा स्रोत केन्द्र मध्य नेपालको नवलपुरमा रहेको र त्यसको प्रवर्द्धन गर्दै क्रियाशील रहने बताएकी छन् । आफूलाई यो क्षेत्रमा लाग्न प्रेरणा दिने जागृति बाल तथा युवा सरोकार नेपाल मध्यबिन्दु नगरपालिका र आफ्ना अभिभावक र गुरु गुरुआमाप्रति मुक्तकण्ठले प्रशंसा गर्दै छोरीहरूले अवसर पाउँदा धेरै काम गर्न सक्छिन् भन्ने बताउँछिन् ।

युवा सराेकार नेपालले बालबालिका र किशाेरीकाे क्षेत्रमा काम गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *