स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित धनञ्जय रेग्मी नयाँ सरकार गठनको तयारीसँगै मन्त्री बन्ने सम्भावित नेतामध्ये अग्रपंक्तिमा देखिएका छन् । विशेषगरी पर्यटन क्षेत्रको लामो अनुभवका कारण उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना उच्च रहेको राजनीतिक तथा पर्यटन वृत्तमा चर्चा सुरु भएको छ ।
नयाँ सरकार गठनका लागि छलफल तीव्र भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि मन्त्रीको सम्भावित सूचीमा रेग्मीको नाम बलियो रूपमा उठिरहेको बताइन्छ । पार्टीभित्र नीतिगत विषयमा दक्ष र प्रशासनिक अनुभव भएका नेताका रूपमा उनको पहिचान बनेको छ ।
रेग्मी यसअघि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहिसकेका छन् । पर्यटन बोर्डको नेतृत्व सम्हाल्दा उनले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा प्रचार र निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने काममा सक्रिय भूमिका खेलेका थिए ।
पर्यटन व्यवसायीका अनुसार रेग्मीले बोर्डको नेतृत्व गर्दा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग नेपाललाई जोड्ने प्रयास, नयाँ गन्तव्यको प्रवर्द्धन र डिजिटल माध्यममार्फत नेपालको पर्यटन ब्रान्डिङलाई अघि बढाउने काम गरेका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको अनुभव भएका कारण पनि रेग्मी पर्यटन मन्त्रालयका लागि स्वाभाविक विकल्पका रूपमा देखिएका छन् । ‘पर्यटन नीतिदेखि बजारसम्म बुझ्ने नेतृत्व आवश्यक छ । त्यो हिसाबले हेर्दा रेग्मी पर्यटन मन्त्रालयका लागि उपयुक्त पात्र हुन सक्छन्’ पर्यटन क्षेत्रसँग सम्बद्ध एक व्यवसायीले बताए ।
निर्वाचन अभियानका क्रममा पनि रेग्मीले पर्यटनलाई नेपालको आर्थिक विकासको प्रमुख आधार बनाउने, नयाँ पर्यटकीय गन्तव्य विकास गर्ने तथा अन्तर्राष्ट्रिय पर्यटक आगमन बढाउने योजनाबारे प्रतिबद्धता व्यक्त गरेका थिए ।
हाल सरकार गठनका लागि रास्वपामा अन्तिम चरणको छलफल जारी छ । यद्यपि सत्ता समीकरणको अन्तिम टुंगो लाग्न बाँकी रहे पनि राजनीतिक वृत्तमा धनञ्जय रेग्मी पर्यटन मन्त्री बन्ने सम्भावना उच्च रहेको चर्चा व्यापक रूपमा चलिरहेको छ।
यदि उनले पर्यटन मन्त्रालयको जिम्मेवारी पाए भने महामारीपछि पुनरुत्थानको चरणमा रहेको नेपालको पर्यटन क्षेत्रमा नीतिगत सुधार, अन्तर्राष्ट्रिय प्रचारप्रसार विस्तार र निजी क्षेत्रसँग सहकार्य बढ्ने अपेक्षा गरिएको छ ।


