इनिशा विक घटना प्रकरण : गण्डकी प्रदेशसभामा न्यायको माग

गत २३ फागुनमा सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिशा विकको न्यायको लागि गण्डकी प्रदेशसभा वैठकमा सांसदहरुले आवाज उठाएका छन् । आइतबारदेखि सुरु भएको हिउँदे अधिवेशनको पहिलो वैठकको शून्य समयमा बोल्दै सांसद दयन्ती रुचालले देशमा छोरीहरु सुरक्षित नरहेको बताउँदै घटनाको निश्पक्ष छानविन गर्न माग गरिन् । निर्मला पन्त प्रकरणमासमेत निश्पक्ष छानविन नहुँदा पीडितले न्याय नपाएको बताउँदै उनले अव बन्ने सरकारले दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिइन् ।

अर्की सांसद दिलमाया पौडेलले सरकारले प्रभावकारी कारबाही नगर्दा यस्ता घटनाहरु दोहोरिने गरेको बताइन् । सामूहिक बलात्कारपछिको हत्या जस्तो जघन्य अपराधलाई समाजमाथिको गम्भिर आक्रमणकारुपमा व्याख्या गरिन् । सांसद नन्दकला नेपालीले अन्तर्राष्ट्रिय महिला अभियानकै समयमा यस्ता घटना घट्नले हाम्रो समाज कुन दिशातर्फ जाँदैछ भन्ने गम्भिर प्रश्न उठाएको बताइन् । उनले कुनै पनि दोषी नछुट्ने गरी कडा कारबाही गर्न माग गरिन् ।

नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता हरिबहादुर चुमानले पनि इनिशा विक प्रकरणमा संलग्न जोकोहीलाई पनि सजायको भागीदार बनाउनुपर्ने माग राखे । राजनीतिक संरक्षण हुँदा अनुसन्धान फितलो भएको उनको भनाई थियो । उनले निर्मला पन्तका अपराधीलाई पनि बचाउने काम भएको भन्दै आक्रोश पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *