बाल अधिकारमैत्री सञ्चार निर्देशिका कार्यान्वयन गर्ने पोखरेली पत्रकारहरुकाे प्रतिबद्धता

पोखरामा आयोजित प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रमबाट बाल अधिकारमैत्री सञ्चार अभ्यासलाई प्रभावकारी बनाउने ८ बुँदे प्रतिबद्धता जारी गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीहरूबीच सम्पन्न “बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रम” को निष्कर्षका रूपमा “बालमैत्री सञ्चार अभ्यास सम्बन्धी पोखरा घोषणापत्र, २०८२” सार्वजनिक गरिएको हो ।

घोषणापत्रमार्फत सञ्चारमाध्यम र पत्रकारहरूले बालअधिकारको संरक्षण, प्रवर्द्धन तथा सम्मानमा केन्द्रित भई समाचार सामग्री उत्पादन र प्रसारण गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, बालबालिकासँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्दा उनीहरूको गोपनीयता, संवेदनशीलता र सर्वोत्तम हितलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बालमैत्री सञ्चार निर्देशिकालाई व्यवहारमा उतार्दै जिम्मेवार पत्रकारितामार्फत बालबालिकाको अधिकार सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त घोषणापत्रले सञ्चार क्षेत्रमा बालमैत्री दृष्टिकोणलाई संस्थागत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

घाेषणापत्र जस्ताकाेतस्तै :

राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीहरूविच सम्पन्न “बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रम” को निष्कर्षका रूपमा जारी गरिएको बालमैत्री सञ्चार अभ्यास सम्बन्धी पोखरा घोषणापत्र, २०८२

मितिः २०८२ चैत्र ११ गते, बुधवार

स्थानः पोखरा, गण्डकी प्रदेश

नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्‌को आयोजनामा गण्डकी प्रदेशका क्रियाशील सद्धारकर्मी, सम्पादक तथा सरोकारवाला निकायहरूविच सम्पन्न “बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रम” ले बालबालिकाको सर्वोत्तम हित (Best Interest of the Child) र सचारमाध्यमको उत्तरदायित्वलाई गम्भीरतापूर्वक मनन गर्दै देहाय बमोजिमको ‘पोखरा घोषणापत्र, २०८२ जारी गर्दछ :

हाम्रा प्रतिबद्धताहरू

१. बालबालिकाको गोपनीयता र आत्मसम्मानको पूर्ण रक्षाः नेपालको संविधान, बालवालिका सम्बन्धी ऐन-२०७५, र पत्रकार आचारसंहिता २०७३ (सशोधन सहित) को अक्षरशः पालना गर्दै, हामी गण्डकी प्रदेशका सजारकर्मीहरू बालबालिकाको गोपनीयता भङ्ग हुने, उनीहरूको चरित्रमा आघात पर्ने वा आत्मसम्मानमा ठेस पुग्ने कुनै पनि सामग्री (नाम, ठेगाना, तस्बिर, भिडियो वा पहिचान खुल्ने विवरण। प्रकाशन तथा प्रसारण नगर्न पूर्ण रूपमा प्रतिवद्ध छौं ।

२. बाल-बिज्याइँ र यौन हिंसाका घटनामा अतिसंवेदनशीलताः कानुनको विवादमा परेका (बाल-विज्याइँ गरेका) वा यौन हिंसा तथा दुर्व्यवहारबाट प्रभावित बालबालिकालाई ‘अपराधी’ वा ‘पीडित’ को रूपमा लाञ्छित गर्ने शब्दावली प्रयोग नगर्ने प्रण गर्दछौँ। यस्ता घटनाको रिपोर्टिङ गर्दा उनीहरूको पहिचान पर्ण रूपमा गोप्य राख्दै, समाजमा पुनःस्थापना हुन सक्ने ‘बाल न्यायको सिद्धान्त’ (Restorative Justice) लाई आत्मसात् गर्नेछौ ।

३. बीभत्स र सनसनीपूर्ण सामग्रीमा निषेधः हत्या, आत्महत्या, दुर्घटना, प्राकृतिक विपद् वा कुनै पनि आपराधिक घटनामा बालबालिकाको वीभत्स, क्षतविक्षत वा त्रसित तस्बिर र भिडियो प्रकाशन/प्रसारण गरी “भ्युज’ (Views) र ‘क्लिकवेट’ (Clickbait) को व्यापार गर्ने प्रवृत्तिलाई हामी पूर्ण रूपमा निरुत्साहित र निषेध गर्दछौं। साथै, वालवालिकालाई कुनै पनि घटनाको ‘साक्षी’ (Eyewitness) का रूपमा प्रस्तुत गरी उनीहरूको ज्यान जोखिममा पार्ने छैनौ ।

४. अन्तर्वार्ता र तस्बिर प्रयोगमा पूर्व स्वीकृतिः सार्वजनिक हितका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अवस्थामा बाहेक, १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको अन्तर्वार्ता लिनु वा तस्बिर सार्वजनिक गर्नुपूर्व उनीहरूका अभिभावक, संरक्षक वा सम्बन्धित निकायको मन्जुरी (Informed Consent) अनिवार्य रूपमा लिनेछौं ।

५. बालमैत्री शब्दावलीको प्रयोगः समाचार कक्ष (Newsroom) मा प्रयोग हुने भाषालाई पूर्ण रूपमा चालमैत्री बनाउनेछौं। ‘बाल अपराधी, बलात्कृत बालिका’ जस्ता नकारात्मक अर्थ दिने शब्दहरूको सट्टा ‘कानुनको बिबादमा परेका बालबालिका’, र ‘यौन हिंसाबाट प्रभावित (Survivor)’ जस्ता सम्मानजनक शब्दावलीको प्रयोगलाई अनिवार्य गर्नेछौ ।

६. सकारात्मक समाचारलाई प्राथमिकताः बालबालिकाका समस्या, अधिकार हत्तन् र जोखिमका विषयलाई उजागर गर्नुका साथै उनीहरूका सिर्जना, सफलता, नवप्रवर्तन र बालक्लवका सकारात्मक अभ्यासहरूलाई सवारमाध्यममा उच्च प्राथमिकताका साथ स्थान दिनेछौँ।

७. विज्ञापनमा बालबालिकाको प्रयोगमा सजगताः बालबालिकाको स्वास्थ्य, मनोविज्ञान र सुरक्षामा प्रतिकूल असर पर्ने व्यापारिक विज्ञापन (जस्तैः जङ्क फुड, सुर्तीजन्य पदार्थ आदि। तथा राजनीतिक स्वार्थका लागि वालबालिकाको प्रयोग गरिएका कुनै पनि सामग्रीलाई सञ्चारमाध्यममा स्थान नदिने प्रतिवद्धता व्यक्त गर्दछौ ।

८. स्वनियमन (Self-Regulation) को अभ्यासः प्रेस काउन्सिल नेपालले जारी गरेको ‘बालमैत्री सञ्चार निर्देशिका, २०७३’ लाई प्रत्येक सञ्चारगृहको ‘सम्पादकीय नीति’ (Editorial Policy) को अभिन्न अङ्ग बनाउनेछौं। सञ्चारमाध्यमहरूले आन्तरिक रूपमै बालमैत्री आचारसंहिता निर्माण गरी लागू गर्ने र ‘स्वनियमन’ को उत्कृष्ट अभ्यास गण्डकी प्रदेशवाट सुरु गर्नेछौ ।

निष्कर्षः बालबालिका आजका साझेदार र भोलिका कर्णधार हुन् । उनीहरूको सुरक्षित वर्तमान र उज्ज्वल भविष्य निर्माणमा सञ्चारमाध्यमको भूमिका ‘रक्षक’ को हुनुपर्छ । यस तथ्यलाई हृदयङ्गम गर्दै, हामी उपस्थित सम्पूर्ण सञ्चारकर्मी, सम्पादक र सञ्चारगृहका प्रतिनिधिहरू माथि उल्लिखित बुँदाहरूलाई आफ्नो पेसागत धर्म मानी अक्षरशः कार्यान्वयन गर्न यो ‘पोखरा घोषणापत्र’ मार्फत सामूहिक सङ्कल्प गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *