राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै सरकारको सुशासन र समृद्धिको दाबीमाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले राज्यका विभिन्न निकायको संस्थागत गरिमामाथि नै प्रश्न उठ्ने गरी हस्तक्षेप भइरहेको बताएका छन्। उनले सेना, प्रहरी तथा कर्मचारी संयन्त्रमाथि दबाब र हस्तक्षेप भइरहेको आरोप लगाउँदै यस्तो प्रवृत्तिले राज्यका संस्थाको मनोबल र प्रतिष्ठा कमजोर बनाउने दाबी गरेका छन्।
सिंहले सांसदहरूले सार्वजनिक रूपमा व्यक्त गरिरहेका अमर्यादित अभिव्यक्तिप्रति समेत असन्तुष्टि जनाएका छन्। यस्ता अभिव्यक्तिले संसद्को गरिमामाथि नै असर पारिरहेको उनको टिप्पणी छ।
उनका अनुसार राज्यका तर्फबाट भइरहेको धरपकड र दबाबका कारण उद्योगी तथा व्यवसायीमा समेत त्रासको वातावरण सिर्जना भएको छ। लगानी र व्यवसायका लागि विश्वासको वातावरण बनाउनुपर्ने समयमा सरकारी गतिविधिले निजी क्षेत्रलाई असुरक्षित महसुस गराएको उनको आरोप छ।
सिंहले सरकारको परराष्ट्र नीतिमाथि समेत प्रश्न उठाएका छन्। वर्तमान गतिविधिका कारण अन्तर्राष्ट्रिय तहमा नेपालको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको र ‘ट्रस्ट डेफिसिट’ बढेको उनको दाबी छ।
सरकारको समग्र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिंहले देशलाई अघि बढाउने भनिएको सुशासन र समृद्धिको रोडम्याप नै गलत दिशातर्फ गइरहेको हो कि भन्ने प्रश्न गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशैभरका सार्वजनिक संस्थामाथि हस्तक्षेप र सेना, प्रहरीको हुर्मत लिने काम भएको छ। के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ ? अब सोच्ने बेला भएको छैन ?’
सिंहको उक्त टिप्पणीसँगै सरकारको सुशासन, राज्य संयन्त्र सञ्चालन तथा परराष्ट्र नीतिबारे राजनीतिक वृत्तमा पुनः बहस सुरु भएको छ।