प्रधानमन्त्री शाहसंग मुख्यमन्त्रीहरूकाे तीन घण्टा

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ ।
संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने ‘थलो’ बन्यो । सामान्यतया राजनीतिक भेटघाटहरूमा देखिने ‘प्रोटोकल’ र औपचारिकता यो बैठकमा कतै देखिएन ।

प्रधानमन्त्री शाहले अपनाएकाे ‘इन्टरएक्टिभ’ शैलीले मुख्यमन्त्रीहरूलाई चकित मात्र तुल्याएन, उनीहरूमा एउटा नयाँ उत्साह समेत भरिदियो ।
छलफलका क्रममा मुख्यमन्त्रीहरूले आफ्ना समस्या राख्दै गर्दा प्रधानमन्त्री शाहले कुनै पनि विषयमा जिज्ञासा जाग्नेबित्तिकै तत्कालै बीचमै सोधेर स्पष्ट पार्ने र समाधानका विकल्पमा बहस छेड्ने गरे ।
प्रधानमन्त्री शाहको यो ‘एक्सन–ओरिएन्टेड’ शैलीलाई मुख्यमन्त्रीहरूले पनि उत्तिकै खुला हृदयले स्वागत गर्दै आफ्ना भोगाइ र अप्ठ्याराहरू विना संकोच राख्ने त भए नै, आफ्ना समस्या प्रधानमन्त्री शाहलाई सुनाउन उनीहरूबीच प्रतिस्पर्धा नै भयो ।

दुवै पक्षबाट बीचबीचमा उत्पन्न जिज्ञासा र तत्कालको प्रतिउत्तरले गर्दा छलफल निकै अर्थपूर्ण र नतिजामुखी बनेको थियो । प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्यालाई केवल ‘नोट’ मात्र गरेनन्, कतिपय प्राविधिक र व्यावहारिक उल्झनहरूलाई तत्कालै समाधान गर्ने उपाय समेत सुझाए ।

नीतिगत गाँठाहरू फुकाउन संघ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, “संघ र प्रदेशबीचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ । त्यसैले तपाईंहरूलाई आफैँले छलफलका लागि राजधानी बोलाएको हो ।” साथै, प्रधानमन्त्री शाहले प्रदेश आफैँले तत्काल गर्न सक्ने सुधारका कार्यहरू ढिला नगरी अघि बढाउन समेत आग्रह गरे ।

यस्तै उनलेले बजेट बिनियोजन गर्दा कुनै पनि विभेद नगर्ने स्पष्ट पारे । बैठक सकेर बाहिरिँदै गर्दा मुख्यमन्त्रीहरूको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। बाहिर प्रधानमन्त्री शाहका बारेमा सुनिने चर्चा र हल्लाभन्दा ठीक विपरीत, उनलाई अत्यन्तै ‘सुन्ने, बोल्ने र तत्कालै सबै कुरा बुझ्ने’ व्यक्तिका रूपमा पाएको भन्दै मुख्यमन्त्रीहरूले खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *