सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीनसमेत रहनुभएका अग्रवालले अब मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती तथा चिकित्सा शिक्षाको सुधारका विषयमा प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।
यसबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वको रूपमा अग्रवालको नियुक्तिले सरकारलाई महत्त्वपूर्ण प्राविधिक सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार आइओएमजस्तो प्रतिष्ठित संस्थाको नेतृत्व गरिसक्नुभएका अग्रवालले अवैतनिक रूपमा आफ्नो विशेषज्ञता राज्यलाई उपलब्ध गराउनेछन् ।
प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको सन्दर्भमा यो नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा.अग्रवालले कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा सेवा प्रदान गर्नेछन् ।



