नेपाली लोक संस्कृति, मौलिक कला र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै स्याङ्जाको आँधिखोला गाउँपालिकामा “आँधिखोला सांस्कृतिक महोत्सव २०८३” आयोजना हुने भएको छ । स्याङ्जा स्रष्टा सदनको आयोजना तथा आँधीखोला गाउँपालिकाको संरक्षणमा हुन लागेको महोत्सव आगामी जेठ २३ गते शनिबार गाउँकार्यपालिकाको कार्यालय परिसरमा सञ्चालन गरिने आयोजक संस्थाका महासचिव घनश्याम रिजालले जानकारी दिए ।
“संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सव दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ भने कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ ।
पछिल्लोसमय आधुनिकताको प्रभावसँगै हराउँदै गइरहेका लोक संस्कार, मौलिक भेषभूषा, परम्परागत गीत–संगीत तथा सांस्कृतिक पहिचानलाई जगेर्ना गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको स्रष्टा सदनका अध्यक्ष पशुपति शर्माले बताए ।
साथै स्थानीय कलाकार, स्रष्टा तथा प्रतिभालाई प्रोत्साहन गर्दै स्याङ्जाको सांस्कृतिक गरिमालाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत लिइएको उनकाे भनाई छ ।
महोत्सवमा लोकदोहोरी, लोकगीत, सांस्कृतिक नृत्य, साहित्यिक प्रस्तुति तथा मौलिक झाँकी विशेष आकर्षणका रूपमा रहने बताइएकाे छ ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी कलाकार पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, शर्मिला गुरुङ, रामजी खाँण, शिव हमाल, खुमन अधिकारी, अर्जुन सापकोटा, शंकर बिँरही गुरुङ, राजु गुरुङ, घनश्याम रिजाल, अर्जुन थापामगर, सुजन लम्साल, रमेशबाबु थापा, प्रसाद लामिछाने, राजन कार्की, प्रकाश पराजुली, कृष्णा गुरुङ, चेतन गोतामे, विक्रम परियार, माया गुरुङ, कमला गैरे, दिनेश क्षेत्री, इन्द्रा गुरुङ, सबिना गुरुङ लगायतका कलाकारको प्रस्तुति रहनेछ।
त्यसैगरी मोडल अस्मिता रनपाल, बिमल अधिकारी र शिशिर पौडेलको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । गण्डकी तारा विजेता बत्ती थापा, भजन गायक शिव शर्मा, लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाका अध्यक्ष जगत गौडेल तथा विभिन्न साहित्यिक स्रष्टाकोसमेत सहभागिता रहने महासचिव रिजालले बताए ।
कार्यक्रममा स्थानीय जातीय संस्कृति, परम्परागत भेषभूषा, लोकनृत्य तथा मौलिक सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछन् । महोत्सवले कला र संस्कृतिको संरक्षणसँगै आँधिखोला क्षेत्रको पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने विश्वास आयोजकको छ ।
कला, संस्कृति र साहित्यमार्फत समाजलाई एकताबद्ध बनाउने उद्देश्यसहित आयोजना गरिएको यस महोत्सवमा कला प्रेमी, साहित्यकार, बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई उपस्थितिका लागि आयोजकले आमन्त्रण गरेको छ । स्याङ्जा स्रष्टा सदनले वार्षिक साधारणसभा पनि साेही दिन गर्ने तयारी रहेकाे रिजालले बताए ।