स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदिखोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। शुक्रबार राति करिब १०ः२० बजे खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मोटरसाइकलको पछाडि सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही सकुशल रहेका छन्। मोटरसाइकल चालक पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगर भने मोटरसाइकलसहित खोलाले बगाएको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सुरु गरेको थियो । थप अनुसन्धानका क्रममा बगाएको मोटरसाइकल ग ११ प ८१८३ नम्बरको रहेको खुलेको छ।
साउन २९ गते बिहान ६ः४५ बजे उक्त मोटरसाइकल घटनास्थलबाट करिब १०० मिटर तल खोलामा फेला परेको थियो। मोटरसाइकल निकालिसकिए पनि सलिम मगर हालसम्म फेला परेका छैनन्।
मगरको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।