बाढी पीडितका नाममा जथाभावी चन्दा नउठाउन सरकारको आग्रह

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि पीडितका नाममा अनधिकृत रूपमा आर्थिक सहयोग संकलन नगर्न सरकारले आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावितको राहतका नाममा जथाभावी चन्दा संकलन नगर्न र नगराउन अनुरोध गरेको हो ।

बुधबार बिहान करिब ८ः४० बजे भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा घाइते तथा अलपत्र परेकाको खोजी तथा उद्धारसँगै राहत वितरणको काम भइरहेको छ ।

यसैबीच केही व्यक्ति तथा समूहले बाढी प्रभावितका लागि राहत जुटाउने भन्दै क्यूआर कोडसमेत सार्वजनिक गरी आर्थिक सहयोग संकलन गरिरहेको गुनासो आएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतले सरकारबाट आधिकारिक रूपमा आह्वान गरिएका निकायबाहेक अन्य व्यक्ति वा संस्थालाई आर्थिक सहयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

प्राधिकरणले अनधिकृत रूपमा आर्थिक सहयोग संकलन भइरहेको जानकारी पाए तत्काल खबर गर्नसमेत आग्रह गरेको छ । यसका लागि प्राधिकरणको ०१–४२१११९७ नम्बरमा सूचना दिन सकिने जनाएको छ ।

विपद्को समयमा पीडितका नाममा ठगी हुन सक्ने भन्दै प्राधिकरणले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । प्रभावित क्षेत्रमा सरकारी संयन्त्र तथा सुरक्षा निकायमार्फत उद्धार र राहतका कामलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *