प्रधानमन्त्री देउवालाई लक्षित गर्दै ओलीको कटाक्ष, ‘बन्दुकले मात्रै सीमाको रक्षा हुदैन’

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बन्दुकले मात्रै सीमाको रक्षा नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड)को संगत गरेपछि देउवा पनि बन्दुकका कुरा गर्न थालेको भन्दै देउवालाई जवाफ फर्काएका हुन् । केही दिनअघि दार्चुला गएर सीमानाको विषयमा बोलेका ओलीलाई प्रधानमन्त्री देउवाले सीमानाको रक्षा गर्न बोलेर मात्र नहुने तर, सीमानामै बन्दुक लिएर जान केही दिन अघि देउवाले ओलीलाई जवाफ लगाएका थिए ।
मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा ओलीले गुमेको जमिन बन्दुकबाट नभई वार्तावाट मात्रै फिर्ता सम्भव रहेको बताएका छन् । ‘दार्चुला गएर जमिन फिर्ता ल्याउने कुरा गरेको थिए’ उनले भने, ‘भोलिपल्टै प्रधानमन्त्री देउवाले बन्दुक लिएर सीमानामा जान भन्नुभएछ । बन्दुकले होइन भारतसँग वार्ता गरेर हामी हाम्रो भूमिको रक्षा गर्छौ ।’ उनले मंसिर ४ पछि एमालेले बहुमत ल्याउने र बहुमतको एकल सरकार बनाएर बार्तावाटै मिचिएका जमिन फिर्ता ल्याउने बताएका थिए । नाकाबन्दीको समयमा पनि देउवा चुइक्क नबोलेको भन्दै ओली आक्रोशित भएका थिए । ‘घुँडा टेक्नुको पनि सीमा हुन्छ । घुँडा टेक्दा सुरुवाल मात्र होइन छाला नै फाट्ने गरि टेके’ उनले भने । सत्तारुढ गठबन्धनको कुनै गन्तव्य नभएको पनि उनले बताएका छन् । ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ’ उनले भने, ‘यो गठबन्धन जनताको चाहना विपरीत छ । एजेण्डा छैनन् । फरकफरक धारका मान्छे फरक फरक घोषणपत्र छन् । कार्यान्वयन कसको गर्ने ? प्रधानमन्त्री बन्नको लागि मात्र यो गठबन्धन हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *