राष्ट्रपति पाैडेलको पहिलो औपचारिक जापान भ्रमण : १५ सदस्यीय टोली फेब्रुअरी १ मा प्रस्थान

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल फेब्रुअरी १ तारिख जापानको औपचारिक भ्रमणमा जाने भएका छन् । जापान सरकारको निमन्त्रणामा हुन लागेको यो भ्रमण राष्ट्रपतिको पहिलो औपचारिक जापान भ्रमण हो । राष्ट्रपति दम्पतिसहित १५ सदस्यीय नेपाली एयरलाइन्समार्फत जापान प्रस्थान गर्ने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयका सचिव अमृत राइले पत्रकारसम्मेलनमार्फत जानकारी दिए ।

भ्रमण टोलीमा राष्ट्रपति दम्पति, परराष्ट्र मन्त्रालयका पाँच जना अधिकारी, राष्ट्रपतिका सल्लाहकार, सुरक्षाकर्मी लगायत सहभागी रहनेछन् । टोली जापान पुगेर कार्यक्रम सम्पन्न गरी ४ तारिखमा स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानका सम्राट, प्रधानमन्त्री तथा उच्चस्तरीय सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लाेकबहादुर पाैडेलले जानकारी दिए ।
प्रवक्ता पाैडेलका अनुसार नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा यो भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ । यो वर्ष नेपाल र जापानले सम्बन्धको ७० औँ वर्ष पूरा भएकाे खुशीयालीमा कार्यक्रम मनाउने सहमति भएको छ ।
मन्त्रालयका अनुसार जापान र नेपाल दुवै देशमा चुनावी माहोल रहे पनि दुई देशबीचको सम्बन्धमा कहिल्यै कमी नआउने स्पष्ट सन्देश दिन यो भ्रमण महत्वपूर्ण हुने बताइएकाे छ ।

जापान नेपालका प्रमुख विकास साझेदार राष्ट्रमध्ये एक हाे । विकास सहकार्यलाई थप सुदृढ गर्दै अब साझेदारीको नयाँ चरणतर्फ अघि बढ्ने लक्ष्य रहेको मन्त्रालयले जनाएकाे छ ।
“सम्बन्धलाई चलायमान र घनिष्ठ बनाउन उच्चस्तरीय भ्रमण अनिवार्य हुन्छ,” उनले भने ।
भ्रमण सम्पन्न भएपछि राष्ट्रपतिले जापान भ्रमणका उपलब्धि र अनुभवबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने कार्यक्रमसमेत तय गरिएको छ । राष्ट्रपति पछिल्लाे विदेश भ्रमण कतार गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *