यताउता भड्किन छाडेर नेकपामै आउन विप्लवलाई प्रचण्डको आग्रह

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेेका छन् ।

विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेता नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

उनले जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताए । “हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ । एकताको प्रक्रियामा तपाईंहरूले निकै ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो,” प्रचण्डले भने ।

समाजवादी मोर्चालाई नै नेपाली कम्युनिष्ट पार्टीको रुपमा अगाडि बढाउन चाहेको आफु र माधव नेपाले विप्लवलाई निकै ठुलो महत्व दिएको भएपनि एकताबाट विप्लव विना कारण पछाडि हटेको उनकाे भनाई थियो ।

एकतामा समावेश नभएपनि विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै उनले नेकपा नै विप्लव समूहको वास्तविक घर भएको उल्लेख गरे । “यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन । आजभोलि यताउता भड्किँदा केही हुनेवाला छैन,” उनको भनाइ थियो ।

प्रचण्डले पुरानो सहयात्रीको नाताले आफुले विप्लवलाई माया र भरोसा गरेको बताउँदै आत्मसमिक्षा गरी नेकपामै फर्किन आग्रह गरे । उनले अझै पनि नेकपामा समावेश भई अघि बढ्ने अवसर बाँकी रहेको बताए  । “यो आत्मसमिक्षा गर्ने बेला हो । तपाईंहरूको अवसर अझै गुमिसकेको छैन,” उनले थपे ।

सो क्रममा प्रचण्डले निर्वाचन नजिकिँदै गर्दा पनि देशको असहज परिस्थिति पूर्णरुपमा समाधान नभैसकेको उल्लेख गरे । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले देश फेरि अर्को दुर्घटनातर्फ जान सक्ने खतरा औँल्याए ।

“चुनाव अगाडि छ, तर यो चुनावले के दिन्छ भन्नेबारे अझै कन्फ्युजन छ । यदि हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने देश फेरि अर्को दुर्घटनातिर जान सक्छ,” उनले चेतावनी दिए ।

प्रचण्डले पार्टीपंक्तिलाई एकताबद्ध भएर चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *