गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि सुरू हुँदै छ। प्रदेश सभा बैठक आज दिउँसो १ बजेदेखि प्रदेश सभा भवन, पोखरामा बस्ने तय भएको छ ।
गण्डकी प्रदेश सभा सचिवालयका अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको जनाइएको छ ।
यस अधिवेशनमा प्रदेश सरकारका विभिन्न विधेयक, नीति तथा कार्यक्रममाथि छलफल हुने अपेक्षा गरिएको छ । साथै प्रदेशको समसामयिक राजनीतिक, आर्थिक तथा विकासका विषयहरूमा समेत छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको यो अधिवेशनलाई आगामी नीति निर्माण र कानुन निर्माणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । दलहरूबीच सहमति र सहकार्यका आधारमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ ।
यसअघि सचिवालयले सूचना जारी गर्दै अधिवेशनको तयारी पूरा भएको जनाएको थियो भने सम्बन्धित सबै पक्षलाई उपस्थितिका लागि आग्रह गरिएको थियो ।


