कक्षा १२ को परीक्षा आजदेखि सुरू हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा २७ वैशाखमा सकिनेछ । परीक्षा सकिएको डेढ महिना (४५ दिन) भित्र नतिजा सार्वजनिक गर्ने तयारी सरकारकाे छ ।
शिक्षामन्त्री सस्मित पाेखरेलले समयमा नै नतिजा प्रकाशन गर्ने तयारी रहेकाे बताउदै परीक्षार्थीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह र शिक्षामन्त्री पोखरेलले डेढ महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएसंगै वाेर्डले तयारी थालेकाे छ । छिटाे नतिजा दिनकाे लागि संयन्त्र थप पर्ने तयारी रहेकाे बाेर्डले जनाएकाे छ । यसअघि ९० दिन (३ महिना) भित्र नतिजा प्रकाशन हुँदै आएको थियो ।
बोर्डका अनुसार परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ परीक्षार्थी छन् । तीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १ सय ३७ छात्रा र २९ जना अन्य छन् । आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी सहभागी हुँदै छन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् । जापानको एभरेस्ट स्कुलबाट पनि ३९ विद्यार्थीले परीक्षा दिँदै छन् । काठमाडौं जिल्लामा सबैभन्दा धेरै ६४ हजार ३ सय ३८ र मनाङमा सबैभन्दा थोरै ३१ परीक्षार्थी छन् ।
परीक्षाका लागि १ हजार ४ सय २१ परीक्षा केन्द्र तोकिएका छन् । कक्षा १२ को परीक्षा गराउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी ४४ हजार ३ सय ४ जना परिचालन गरिँदै छ ।
उत्तरपुस्तिका परीक्षण गत वर्ष जस्तै बोर्डले तोकेको केन्द्रमा मात्र गरिनेछ । कक्षा १० (एसईई) को उत्तरपुस्तिका भने यो वर्ष परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो । एसईईको नतिजा परीक्षा सकिएको १ महिना (वैशाख मसान्त) भित्रै प्रकाशन गर्ने तयारी छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांक ‘इन्ट्री’ र रुजुको काम भइरहेको छ ।




