प्रहरीले यात्रुसंगकाे कुराकानी, भिडियो बनाएर सामाजिक संजालमा पाेष्ट भएमा कारबाही गर्ने बताएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राइड सेयरिङ सेवामा संलग्न चालकलाई यात्रुसँगको व्यक्तिगत कुराकानी रेकर्ड गरी सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही गर्ने चेतावनी दिएको हाे ।
प्रहरीका अनुसार पछिल्लोसमय केही चालकले यात्रुसँगको संवादलाई भिडियो भ्लगका रूपमा प्रस्तुत गर्दै अपशब्द प्रयोगसहित सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ । यस विषयमा प्रहरीले सूचना नै निकालेर जानकारी गराएको हाे । यस्ता भिडियो भए तुरुन्त हटाउन पनि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ ।
परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार यस्ता घटना सामाजिक सञ्जाल व्यापक बन्न थालेपछि यस्तो निगरानी बढाइएको हो । कुनै पनि व्यक्तिको फोटो वा भिडियो निजको अनुमतिबिना खिच्नु तथा सार्वजनिक गर्नु कानुनविपरीत हुने उनले बताए । यस्तो गतिविधिले यात्रुको गोपनीयता उल्लंघन हुने र पेसा नै बनाएर यस्तो कार्य गर्नेलाई कानुनी दायरामा ल्याउने एसपी भट्टराईले बताएका छन् ।




