Thursday, १५ October २०२६
समाज

फेवाताल क्षेत्रभित्रका संरचना हटाउन पोखरा महानगरको सार्वजनिक सूचना

फेवाताल क्षेत्रभित्रका संरचना हटाउन पोखरा महानगरको सार्वजनिक सूचना

पोखरा महानगरपालिकाले फिर्केखोलादेखि फेवातालमा मिसिने क्षेत्रमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सार्वजनिक सूचना जारी गरेको छ ।

महानगरपालिकाका अनुसार वडा नं. १८ को अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६ को गाईघाटसम्म फेवा किनार क्षेत्रभित्र पर्ने संरचना हटाउन निर्देशन दिइएको हो । महानगरले यसअघि प्राविधिक टोलीमार्फत स्थलगत नापजाँच गरी पोल गाडिएको सीमाभित्र बनेका संरचनाको विवरण संकलन गरेको जनाएको छ ।

यसअघि ३५ दिने सूचना जारी गरिएको भए पनि उक्त विषयमा उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो । अदालतले उत्प्रेषण तथा परमादेशको आदेश जारी नगर्ने फैसला गरेपछि महानगरले पुनः सूचना जारी गर्दै २०८३ जेठ ९ गतेभित्र सबै संरचना स्वयं हटाउन आग्रह गरेको हो ।

महानगरपालिकाले तोकिएको समयभित्र संरचना नहटाइए महानगर आफैंले हटाउने र त्यस क्रममा लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गरिने चेतावनी दिएको छ ।

फेवाताल संरक्षण, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक क्षेत्र व्यवस्थापनका लागि महानगरले अभियानलाई थप कडाइका साथ अघि बढाएको जनाएको छ ।