भू–उपयोग वर्गीकरणमा त्रुटि भेटिएपछि सच्याउन आँधीखोला गाउँपालिकाको आग्रह

स्याङ्जाको आँधीखोला गाउँपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणका क्रममा केही जग्गाको कित्तागत विवरणमा त्रुटि तथा भूल देखिएको भन्दै सम्बन्धित जग्गाधनीलाई सच्याउन निवेदन दिन आग्रह गरेको छ ।

गाउँपालिकाले २०८३ जेठ ४ गते सूचना जारी गर्दै भू–उपयोग ऐन, २०७६ तथा भू–उपयोग नियमावली, २०७९ अनुसार गाउँपालिका क्षेत्रभित्रका जग्गाहरूको भू–उपयोग क्षेत्र वर्गीकरण गरी कित्तागत विवरण तयार गर्ने क्रममा प्राविधिक त्रुटि भएको गुनासो प्राप्त भएको जनाएको हो ।

सूचनाअनुसार कृषि, आवास, व्यावसायिक लगायत विभिन्न प्रयोजनका लागि वर्गीकरण गरिनुपर्ने केही जग्गा फरक क्षेत्रमा समावेश भएको पाइएको छ। यसरी वास्तविक प्रयोगभन्दा फरक वर्गीकरण हुँदा जग्गाधनीलाई भविष्यमा किनबेच, घर निर्माण, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक प्रक्रियामा समस्या आउन सक्ने भएकाले गाउँपालिकाले समयमै सच्याउन प्रक्रिया अघि बढाएको जनाएको छ ।

गाउँपालिकाले भू–उपयोग नियमावली, २०७९ को नियम ११ को उपनियम (१) तथा अनुसूची–२ बमोजिम क्षेत्र परिवर्तनको व्यवस्था अनुसार सम्बन्धित व्यक्तिलाई निवेदन दिन आग्रह गरेको हो। सूचना जारी भएको मितिदेखि नै सम्बन्धित वडा कार्यालयमा गई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को छायाँप्रतिसहित निवेदन पेश गर्न भनिएको छ ।

स्थानीय तहले भू–उपयोग व्यवस्थापनलाई व्यवस्थित, वैज्ञानिक र व्यवहारिक बनाउन तथ्यांक अद्यावधिक तथा अभिलेख सुधारको कामलाई प्राथमिकतामा राखेको जनाएको छ। गाउँपालिकाका अनुसार वास्तविक अवस्थाअनुसार जग्गाको सही वर्गीकरण भएमा विकास निर्माण, पूर्वाधार विस्तार तथा सरकारी सेवा प्रवाहमा समेत सहजता आउने विश्वास गरिएको छ ।

आँधीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाद्वारा हस्ताक्षरित सूचनामा जग्गाधनीलाई ढिला नगरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। साथै थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा गाउँपालिकामा सम्पर्क गर्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *