गण्डकी प्रदेशसभाको वर्खे अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेशले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार अधिवेशन जेठ ११ गते सोमबार अपराह्न २ बजे बस्ने तय गरिएको छ । अधिवेशन पोखरास्थित प्रदेशसभा भवनमा सञ्चालन हुने जनाइएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट अधिवेशनको तयारी, समसामयिक राजनीतिक विषय तथा प्रदेशसँग सम्बन्धित विभिन्न विधेयकमाथि छलफल गर्न यो अधिवेशनलाई महत्वपूर्ण रूपमा हेरिएको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेका बेला बोलाइएको अधिवेशनलाई अर्थपूर्ण मानिएको छ ।
संविधानअनुसार प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार प्रदेशसभाको बैठक बोलाइएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन सम्बन्धी जानकारी सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।