सरकारले मुस्लिम समुदायको पर्व बकर इद (इद-उल-अजहा) का अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाएको हो । मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष बकर इद २०८३ साल जेठ १४ गते बिहीबार परेकोले सो दिन सार्वजनिक बिदा हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले सम्बन्धित सबै निकायलाई जानकारीका लागि अनुरोध गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा पर्वको शुभकामना समेत व्यक्त गरेको छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा बकर इदको अवसरमा नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरिएको छ ।
सरकारले बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार चार दिन बिदा परेको छ । जेठ १४ गते बकर इदको सार्वजनिक बिदा, १५ गते गणतन्त्र दिवस, १६ गते शनिबार र १७ गते आइतबार परेकाले कर्मचारी तथा विद्यार्थीले लगातार चार दिन विदा पाउने भएका छन् ।

