बन्द र घाटामा रहेका राष्ट्रिय उद्योगमा सुधारको संकेत देखिन थालेको प्रधानमन्त्री शाहको दाबी

प्रधानमन्त्री वालेन शाहले वर्षौंदेखि बन्द, घाटामा सञ्चालित तथा निराशाले घेरिएका सरकारी स्वामित्वका राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने प्रयास भइरहेको बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानको सुधारलाई प्राथमिकतामा राख्दै सहजीकरण, उत्प्रेरणा र समन्वयमा जोड दिएको उल्लेख गरेका छन्। कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’ का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उनको दाबी छ।

उनका अनुसार लामो समयदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको शाहले बताएका छन्।

चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ। सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादनको तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको प्रधानमन्त्रीको भनाइ छ।

त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको उनले बताएका छन्। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको शाहले उल्लेख गरेका छन्। परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने तयारी छ।

नेपाल वायुसेवा निगमको आम्दानीमा समेत सुधार आएको प्रधानमन्त्री शाहको दाबी छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको उनले बताएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

उक्त अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ६ प्रतिशत बढी हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता पनि सोही अवधिमा भुक्तानी गरिएको शाहले बताएका छन्।

दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्। उनका अनुसार ७२ करोड रुपैयाँ बराबरको आठ महिनाको भुक्तानी चक्रलाई घटाएर दुईदेखि तीन महिनामा ३५ करोड रुपैयाँमा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ।

सुधारका प्रयास सुरु भएपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको शाहले बताएका छन्। कानुनविपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गर्दा वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत भएको उनको भनाइ छ।

डीडीसीबाट चाँडै खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी रहेको पनि प्रधानमन्त्रीले बताएका छन्।

यसैगरी, सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको शाहले उल्लेख गरेका छन्। गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनको दाबी छ।

हाल वैद्यखानाबाट १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको तथा चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढिरहेको प्रधानमन्त्रीले बताएका छन्।

चालु आर्थिक वर्षमै पाउडर र ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत लिइएको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम राख्न सके रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योग तथा संस्थानमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्।

उनले देशभित्रै उत्पादन बढाएर आत्मनिर्भरतातर्फ अघि बढ्ने सरकारको यात्रामा नागरिकको रचनात्मक साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *