विश्व बैंकले २५ अर्ब, गैरआवासीय नेपाली संघले ५ करोड, एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड र रास्वपाले ५० लाख दिने भएका छन् ।
भोटेकोसीमा बुधबार आएको बाढीले मानवीय र भौतिक क्षति गरेपछि नेपालको लागि सहयोग उठन थालेको छ । नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आपत्कालीन सहयोगका रूपमा २५ अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने बताएका छन् ।
यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बृहत् भर्चुअल बैठकले भोटेकोशी बाढीपीडितका लागि ५ करोड रुपैयाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सक टोली परिचालन गरिने निर्णय गरेको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले पनि सरकारी राहत कोषमा १ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ । विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ । नेपालका दुई छिमेकी भारत र चीनका साथै संयुक्त राज्य अमेरिका र विश्व बैंकले बाढीपछि उद्धार, राहत र पुनर्निर्माणका लागि सहयोग दिने घोषणा गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँगको फोन कुराकानीमा सम्भव भएसम्म सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले विनाशकारी बाढीका बेला नेपाललाई सहयोग गर्न १० टन बराबरको राहत सामग्री तथा अत्यावश्यक औषधि पठाइएको जनाएका छन् । बुधबार बेलुकी नै भारतले पठाएका केही राहत सामग्री आइसकेका छन् ।
चीनले पनि तत्काल आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । चिनियाँ राजदूत चाङ माओमिङले सहयोग प्राप्त गर्ने प्रक्रिया सुरु गर्न आग्रहसमेत गरेका छन् । अमेरिकाले पनि नेपाललाई सहयोग गर्न आफू तत्पर रहेको जनाएको छ । यसैबीच रास्वपा सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । यसैगरी राजनीतिक दलहरुले विपद्मा सरकारसँग समन्वय गर्दै फिल्डमा खटिन कार्यकर्ता र नेतालाई निर्देशन दिएका छन् ।