निर्वाचन सुरक्षा : अन्तिम तयारीमा सेना-प्रहरी

Share this post :

Facebook
Twitter
WhatsApp

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सबै तयारी पूरा भएको सुरक्षा निकायले दाबी गरेका छन् ।

नेपाली सेना र नेपाल प्रहरीले सातवटै प्रदेशका लागि सुरक्षा रणनीति तयार गरी त्यसअनुसार जनशक्ति परिचालनको योजना बनाएको जनाएका छन् । नेपाली सेनासहितको संयुक्त टोलीले आगामी सातादेखि गस्ती सुरु गर्ने तयारी गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले स्थानीय प्रशासन, निर्वाचन अधिकृत र अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय गरी तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गरिने बताए । उनले भने, ‘त्यसबाहेक नेपाली सेनाले हवाई गस्तीसमेत गर्नेछ ।’

फागुन २१ गतेको निर्वाचन सुरक्षालाई लिएर राजनीतिक दलहरूले प्रश्न उठाइरहेका बेला नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीको संयुक्त टोली तैनाथ गर्ने तयारी गरिएको छ । नेपाली सेनाले करिब ८९ हजार सैनिक खटाउने योजना बनाएको छ भने नेपाल प्रहरीले निर्वाचन प्रहरीसहित झन्डै डेढ लाख जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले पनि आवश्यकताअनुसार जनशक्ति परिचालन गर्नेछ । नेपाली सेनाले निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपछिको अवस्था गरी तीन तहमा सुरक्षा दस्ता खटाउने जनाएको छ । सेनाले १ सय ६५ निर्वाचन क्षेत्रलाई मध्यनजर गर्दै पूर्व, काठमाडौं, मध्य र सुदूरपश्चिम गरी चार स्थानबाट हवाई गस्तीसहित स्रोत–साधन परिचालन गर्ने तयारी गरेको छ ।

सेनाले निर्वाचन क्षेत्रमा एरिया पेट्रोलिङसमेत गर्नेछ । यता नेपाल प्रहरीले सातवटा प्रदेशमा ७० हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने जनाएको छ । प्रदेशको जनसंख्या र निर्वाचन क्षेत्रको संवेदनशीलतालाई आधार मानेर प्रहरी खटाइने तयारी छ ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार निर्वाचनका बेला आवश्यकताअनुसार पहिलो, दोस्रो र तेस्रो घेरामा निर्वाचन प्रहरीसहित जनशक्ति परिचालन गरिनेछ । ‘सामान्य, संवेदनशील र अति संवेदनशील अवस्थाका आधारमा प्रहरीको संख्या तोकिनेछ,’ उनले भने । उनका अनुसार एउटै मतदान स्थलमा औसत १३ वटा मतदान केन्द्र रहने र त्यहाँ प्रहरी तथा निर्वाचन प्रहरी गरी औसतमा ८० जनासम्म खटिनेछन् ।

सेना र प्रहरीले मतपेटिका, उम्मेदवार, मतदाता तथा मतदान अधिकृतको सुरक्षा सुदृढ बनाउने गरी तयारी गरिरहेको जनाएका छन् । निर्वाचनमा मतपेटिकाको सुरक्षाका लागि पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी रहनेछन् भने तेस्रो घेरामा नेपाली सेना र सशस्त्र प्रहरी बल तैनाथ हुनेछन् ।

निर्वाचन प्रहरीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले १० दिने तालिमसमेत सुरु गरिसकेका छन् । निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा निकायहरूले भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *