प्रचण्डले भने, झापा–५ मा कुनै दलसँग सहकार्य हुँदैन्

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग सहकार्य नहुने बताएका छन् ।

बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको गठबन्धनसम्बन्धी हल्ला नपत्याउन र सक्रिय रूपमा चुनावी अभियानमा लाग्न निर्देशन दिए ।

प्रचण्डसँग केहीबेर अघि मात्रै फोनवार्ता भएको पुष्टि गर्दै तामाङले बाहिर बजारमा फैलिएको कांग्रेस–एमालेसँगको सम्भावित गठबन्धनबारेको चर्चा असत्य रहेको बताए । ‘मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ । बाहिर जे बजारमा हल्ला आएको छ, कहीँ पनि अलायन्स हुँदैन’ तामाङले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘कुनै पनि छलफल, कुराकानी भएको छैन र हुँदैन पनि । हामी दृढतापूर्वक लागौँ भन्नुभएको छ ।’

फोनवार्ताका क्रममा प्रचण्डले पार्टी पंक्तिलाई भ्रममा नपरी चुनावी मैदानमा सक्रिय रहन आग्रह गरेको तामाङले जानकारी दिए । उनले पूर्व क्षेत्रमा विशेष सभा आयोजना गर्ने तयारीबारे पनि अध्यक्षलाई अवगत गराएको बताए । ‘देशभर कार्यक्रम गर्नुपर्‍यो । विशेषगरी झापामै एउटा सभा राख्नुपर्‍यो भनेर मैले आग्रह गरेको छु’ तामाङले भने, ‘यहाँको चुनावी रिपोर्टिङ पनि उहाँलाई गराएँ ।’

बुधबार काठमाडौंमा बुद्धिजीवीसँगको छलफलमा प्रचण्डले विदेशी शक्तिहरूलाई परास्त गर्न आवश्यक परे कांग्रेस र एमालेसँग पनि संवाद गर्नुपर्ने बताएका थिए । सिंहदरबार जलाउने दलालहरूबाट देश, संविधान र शान्ति प्रक्रिया बचाउनुपर्दा कांग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्ने उनले बताएका थिए । यही अभिव्यक्तिलाई लिएर झापा–५, दाङ–२ लगायत क्षेत्रमा सम्भावित गठबन्धनको चर्चा सुरु भएको थियो । तर झापा–५ मा कुनै पनि प्रकारको सहकार्य नहुने र स्वतन्त्र रूपमा चुनाव लड्ने नेकपाको अडान प्रचण्डले फोनमार्फत स्पष्ट पारेको तामाङको भनाइ छ । उनले पार्टी संगठनलाई एकताबद्ध भएर अभियानमा जुट्न निर्देशन दिएको पनि जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *