स्याङ्जाका कलाकारहरूको आज ऐतिहासिक जम्काभेट, आँधीखोला सांस्कृतिक महोत्सवको तयारी पूरा

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा घर भई देशका विभिन्न जिल्ला तथा विदेशमा रहेर कला, संस्कृति, साहित्य, संगीत र सञ्चार क्षेत्रमा सक्रिय कलाकारहरूको आज स्याङ्जामा विशेष जम्काभेट हुँदैछ । आँधीखोला सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले जिल्लाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

“संस्कृति, पर्यटन र समृद्ध आँधीखोला” भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवमा स्याङ्जासँग सम्बन्ध रहेका कलाकार, सर्जक, गायक–गायिका, साहित्यकार तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा कलाकारहरूबीच अनुभव आदानप्रदान, सांस्कृतिक प्रस्तुति, स्रष्टा सम्मान तथा स्याङ्जाको मौलिक कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनबारे छलफल हुने बताइएको छ। जिल्लाभित्र मात्र नभई देशका विभिन्न स्थान र विदेशमा रहेका स्याङ्जाली कलाकारहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

आयोजक संस्था स्याङ्जा स्रष्टा सदनका अध्यक्ष पशुपति शर्माका  अनुसार आजको जम्काभेटले स्याङ्जाको कला, साहित्य, संस्कृति र पर्यटनको पहिचानलाई थप उजागर गर्दै भावी पुस्तालाई आफ्नो मौलिक संस्कृति संरक्षणप्रति प्रेरित गर्ने विश्वास लिइएको छ ।

जेठ २३ गते हुने महोत्सवका विभिन्न कार्यक्रमप्रति स्थानीयवासी तथा कलाकारहरूमा उत्साह बढेको छ भने स्याङ्जाको सांस्कृतिक गौरवलाई राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएकाे महासचिव घनश्याम रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *