Thursday, १५ October २०२६
समाज

स्याङ्जाका कलाकारहरूको आज ऐतिहासिक जम्काभेट, आँधीखोला सांस्कृतिक महोत्सवको तयारी पूरा

स्याङ्जाका कलाकारहरूको आज ऐतिहासिक जम्काभेट, आँधीखोला सांस्कृतिक महोत्सवको तयारी पूरा

स्याङ्जा घर भई देशका विभिन्न जिल्ला तथा विदेशमा रहेर कला, संस्कृति, साहित्य, संगीत र सञ्चार क्षेत्रमा सक्रिय कलाकारहरूको आज स्याङ्जामा विशेष जम्काभेट हुँदैछ । आँधीखोला सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले जिल्लाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

“संस्कृति, पर्यटन र समृद्ध आँधीखोला” भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवमा स्याङ्जासँग सम्बन्ध रहेका कलाकार, सर्जक, गायक–गायिका, साहित्यकार तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा कलाकारहरूबीच अनुभव आदानप्रदान, सांस्कृतिक प्रस्तुति, स्रष्टा सम्मान तथा स्याङ्जाको मौलिक कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनबारे छलफल हुने बताइएको छ। जिल्लाभित्र मात्र नभई देशका विभिन्न स्थान र विदेशमा रहेका स्याङ्जाली कलाकारहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

आयोजक संस्था स्याङ्जा स्रष्टा सदनका अध्यक्ष पशुपति शर्माका  अनुसार आजको जम्काभेटले स्याङ्जाको कला, साहित्य, संस्कृति र पर्यटनको पहिचानलाई थप उजागर गर्दै भावी पुस्तालाई आफ्नो मौलिक संस्कृति संरक्षणप्रति प्रेरित गर्ने विश्वास लिइएको छ ।

जेठ २३ गते हुने महोत्सवका विभिन्न कार्यक्रमप्रति स्थानीयवासी तथा कलाकारहरूमा उत्साह बढेको छ भने स्याङ्जाको सांस्कृतिक गौरवलाई राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएकाे महासचिव घनश्याम रिजालले बताए ।