१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको सिरहा–धनुषा जोड्ने कमला नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुल अबको दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादलगायत कारण लामो समयदेखि अलपत्र रहेको आयोजनाको मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरिएपछि निर्माण कार्यले गति लिएको हो।
नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब–स्ट्रक्चरको ढलानसमेत सकिएको छ। पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम पनि पूरा भइसकेको छ। अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको छ। आगामी साता नदीमा पानीको सतह घटेपछि उक्त कामसमेत सम्पन्न गर्ने तयारी छ।
धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि भरिएको माटो वर्षाको पानीले बगाएर क्षति पुगेको छ। नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ। सिराहातर्फको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ। पुलको लोड परीक्षणसमेत सम्पन्न भइसकेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कमला पुलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए। निरीक्षणका क्रममा मन्त्री लम्सालले पुल निर्माणमा ढिलाइ हुन नदिने प्रतिबद्धता जनाएका थिए।
मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ। नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ। डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन्। आगामी साता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने तयारी मन्त्रालयको छ।
कमला नदीमाथि पुल निर्माणका लागि २०६८ सालमा पप्पु लुम्बिनी जेभीले ठेक्का लिएको थियो। २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि निर्माण कार्य प्रभावित बनेको थियो। त्यसपछि ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादलगायत कारण आयोजना लामो समय रुग्ण अवस्थामा रह्यो।
सरकारले आयोजनाको ढिलाइका मुख्य कारण पहिचान गरी आवश्यक सहजीकरण गरेपछि अहिले निर्माण कार्यले गति लिएको हो। अबको दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित बाँकी काम अघि बढाइएको छ।
वर्षौँदेखि मधेशको आवागमनमा समस्या बनेको कमला पुल सञ्चालनमा आएपछि हुलाकी राजमार्गमार्फत सिराहा र धनुषासहित मधेशका विभिन्न जिल्लाबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।




0 comments