बालगृह सञ्जाल कास्कीले हालैको भोटेकोसी बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विपद्बाट अभिभावकविहीन भएका १७० बालबालिकालाई दीर्घकालीन संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ ।
सञ्जालले शुक्रबार जारी गरेको प्रेस नोटमार्फत बालबालिका संरक्षणसम्बन्धी प्रचलित कानुन तथा आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी आएका अभिभावकविहीन बालबालिकालाई संरक्षण गर्ने जनाएको हो ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा पुगेर कास्कीका विभिन्न बालगृहको तर्फबाट करिब ६ लाख रुपैयाँ बराबरको आवश्यक राहत सामग्री उपलब्ध गराउने तयारीसमेत रहेको सञ्जालले जनाएको छ। यस्तै, बालगृह सञ्जालका संस्थापक अध्यक्ष आबद्ध नमस्ते कम्युनिटी फाउण्डेसनले प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ र अन्य बालगृहहरूले ५ लाख रुपैयाँ सहयोग गरिसकेको जनाइएको छ ।
सञ्जालका अनुसार नेपालका ४५ जिल्लामा ४१७ वटा बालगृहमा करिब ११ हजार ९ सय बालबालिका आवासीय संरक्षणमा छन्। गण्डकी प्रदेशमा मात्रै ३७ वटा बालगृहमा १ हजार १३३ बालबालिका संरक्षित छन्। कास्कीमा राष्ट्रिय बाल अधिकार परिषद्बाट सञ्चालन अनुमति प्राप्त २५ वटा बालगृहमा ९४४ बालबालिका संरक्षणमा रहेको प्रेस नोटमा उल्लेख छ ।
बालगृह सञ्जाल कास्कीले विगतमा भूकम्प, बाढी, पहिरोलगायत विपद्का समयमा समेत बालबालिकाको संरक्षण तथा आर्थिक, भौतिक र मानवीय सहयोग गर्दै आएको जनाएको छ। सञ्जालले हालसम्म विभिन्न बालगृहमा संरक्षित बालबालिकामध्ये १ हजार ३ सयभन्दा बढीलाई परिवार, आफन्त तथा समुदायमा पुनःस्थापना गरी विभिन्न पेसा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध गराइएको जनाएको छ ।
सञ्जालले बालगृह सञ्चालनमा देखिएका चुनौतीमध्ये संरक्षित बालबालिकाको पहिचान, जन्मदर्ता तथा नागरिकता प्राप्तिमा समस्या, बालगृहहरूलाई एउटै दृष्टिकोणबाट हेर्ने प्रवृत्ति, स्थानीय स्रोत परिचालनको कमी, राज्यका तहबाट पर्याप्त प्राथमिकता नदिनु तथा बालबालिका पुनःस्थापनामा देखिएको कठिनाइलाई प्रमुख रूपमा औँल्याएको छ ।
बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै बालगृहहरूको अनुगमन, आवश्यक सल्लाह–सुझाव तथा सरकारी र गैरसरकारी निकायसँग सहकार्यलाई निरन्तरता दिने सञ्जालले जनाएको छ । सञ्जालले दीर्घकालीन लक्ष्यका रूपमा बालबालिकालाई बालगृहमा भर्ना गर्नै नपर्ने अवस्थाको सिर्जना गर्ने उद्देश्यसमेत अघि सारेको छ ।





0 comments