स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा हाईस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
बिहीबार दिउँसो करिब १२ः२० बजे मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको ईभी हाईस र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारी गम्भीर घाइते भएका छन् । उनको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकलमा सवार सोही स्थानका २३ वर्षीय सरोज विकको बायाँ हात र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र हाईस चालक स्याङ्जाको भिरकोट नगरपालिका–८ रिपका करिब ४९ वर्षीय चोकबहादुर गुरुङलाई वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा लिइएको छ ।
घटनापछि वडा प्रहरी कार्यालय वालिङबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





0 comments