पहिलो उडानमै १६३ यात्रु, फ्लाई दुबईको पोखरा–दुबई नियमित उडान सुरु
फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई–पोखरा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। नियमित उडानको पहिलो दिन नै पोखराबाट दुबईका लागि ३ जना बिजनेस क्लाससहित १६३ जना यात्रु प्रस्थान गरेका छन्।
फ्लाई दुबईको जहाजको यात्रु क्षमता करिब १६० देखि १६५ सिट रहेकोमा पहिलो उडानमै १६३ यात्रु रहेकाले उडान लगभग पूर्ण क्षमतामा सञ्चालन भएको हो। पोखराबाट पहिलो नियमित उडानमै उच्च संख्यामा यात्रु प्रस्थान गरेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावनालाई उत्साहजनक रूपमा हेरिएको छ।
दुबईबाट ९९ जना यात्रु लिएर फ्लाई दुबईको जहाज आज साँझ ६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। पोखराबाट भने सोही जहाज साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको छ।
दुबईबाट पोखरा आउने उडानमा पनि पूर्ण क्षमतामा टिकट बुकिङ भएको बताइएको छ। तर फ्लाई दुबईका मालिकमध्ये एक राजकुमारको निधन भएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितका उच्चपदस्थ व्यक्तिको पोखरा भ्रमण स्थगित भएकाले टिकट बुक गरेका सबै यात्रु पोखरा आउन नसकेको जनाइएको छ।
फ्लाई दुबईको पोखरा–दुबई नियमित उडानका आगामी दिनका लागि पनि टिकट बुकिङ उत्साहजनक रहेको छ। पछिल्ला विवरणअनुसार आगामी हरेक दिनका उडानमा ५० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको छ।
पोखराबाट अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएसँगै पोखराको पर्यटन, वैदेशिक रोजगारी तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
