यस्ताे छ, आगामी तीन दिनको मौसम
आगामी तीन दिन देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
हाल हिमाली भू-भागमा आंशिक बदली तथा पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
आजको मौसम
आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै तथा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मंगलबार
मंगलबार दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली भू-भागका एक-दुई तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मंगलबार राति हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
बुधबार
बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
पहाडी भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोसी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधबार राति कोसी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
