गगन थापाको प्रतिवेदन : प्रधानमन्त्री दुई कार्यकाल, भ्रष्टाचारलाई संरक्षण नगर्ने
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, सांगठनिक, आर्थिक र वैचारिक रूपान्तरणका लागि २९ वटा महत्वपूर्ण प्रस्ताव अघि सारेका छन्। प्रतिवेदनले पछिल्ला वर्षमा कांग्रेस सत्ताकेन्द्रित, गुटबन्दी र भागबन्डाको राजनीतिमा अल्झिँदा जनतासँग दूरी बढेको आत्मसमीक्षा गरेको छ।
प्रतिवेदनमा कुनै व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने प्रस्ताव गरिएको छ। साथै, निर्वाचनमा पूर्वगठबन्धन नगरी कांग्रेस आफ्नै चुनाव चिह्न, उम्मेदवार र एजेन्डासहित जनतामाझ जाने नीति अघि सारिएको छ।
सुशासनतर्फ भ्रष्टाचार र अनियमिततामा आफ्नै नेता वा कार्यकर्तालाई समेत संरक्षण नगर्ने, पार्टीको वित्तीय पारदर्शिता तथा नियमित लेखापरीक्षणलाई कडाइ गर्ने प्रस्ताव छ। न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
कांग्रेसलाई प्रभावकारी प्रमुख प्रतिपक्षका रूपमा स्थापित गर्न ‘छाया सरकार’, तथ्यमा आधारित सरकारी निगरानी र वैकल्पिक नीति निर्माणको अवधारणा पनि अघि सारिएको छ। उम्मेदवार छनोटमा प्राइमरी प्रणाली तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन आवश्यक कानुनी पहल गर्ने प्रस्तावसमेत समेटिएको छ।
युवाको असन्तुष्टि सम्बोधन गर्न स्वतन्त्र युवा विज्ञ कार्यदल गठन, रोजगारी तथा उत्पादनमा जोड, निजी क्षेत्रसँग सहकार्य, डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताअनुकूल शिक्षा, जलवायु जोखिम तथा सामाजिक सुरक्षालाई पार्टीको आगामी कार्यदिशामा जोडिएको छ।
