Thursday, २२ October २०२६
समाचार

खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उनीमाथि उठाइएका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ।

विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषय गम्भीर र संवेदनशील रहेको उल्लेख गरिएको छ। यस्ता विषयलाई पार्टीले सामान्य रूपमा लिन नसक्ने भन्दै रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।

पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जनाएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै रास्वपाले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै विज्ञप्तिमा राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने जनाइएको छ।

कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने रास्वपाले स्पष्ट पारेको छ।