Thursday, २२ October २०२६
पर्यटन

हिमताल फुट्ने जोखिम घटाउन नेपालमा ५० मिलियन डलरको परियोजना, चार उच्च जोखिमका तालमा निगरानी

हिमताल फुट्ने जोखिम घटाउन नेपालमा ५० मिलियन डलरको परियोजना, चार उच्च जोखिमका तालमा निगरानी

नेपालले हिमताल विस्फोटबाट हुने बाढीको जोखिम घटाउन ५० मिलियन अमेरिकी डलर बराबरको परियोजना अघि बढाउने तयारी गरेको छ। परियोजनाले चार उच्च जोखिमयुक्त हिमताल ठूलागी, लोअर बरुण, लुम्दिङ त्सो र होङ्गु-२ लाई लक्षित गर्नेछ ।

परियोजनाका लागि हरित जलवायु कोषबाट ३६.१ मिलियन डलर र नेपाल सरकार तथा साझेदारबाट १३.८ मिलियन डलर सहलगानी हुने प्रस्ताव गरिएको छ। विस्तृत अध्ययन तथा डिजाइनको काम सन् २०२७ जुलाईसम्मको आर्थिक वर्षबाट सुरु गर्ने तयारी छ ।

परियोजनाअन्तर्गत हिमतालमा संवेदक उपकरण, पूर्वसूचना प्रणाली र बाढी पूर्वानुमान प्रविधि जडान गरिनेछ । यसबाट सम्भावित हिमताल विस्फोट तथा बाढी आउनुअघि तल्लो तटीय क्षेत्रमा रहेका बस्तीलाई समयमै सूचना दिएर क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा हिमतालको विस्तार र जलवायु परिवर्तनका कारण हिमताल विस्फोटजन्य बाढीको जोखिम बढिरहेका बेला प्रस्तावित परियोजनालाई जलवायुजन्य विपद् व्यवस्थापनको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।