हवाई भाडामा मनपरी गर्न नपाइने, तोकिएको दरभन्दा बढी लिए १५ लाखसम्म जरिवाना
चाडपर्व, खराब मौसम वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग तोकिएकोभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीमाथि कडा कारबाही गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
संघीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक, २०८३ मा प्राधिकरणले तोकेको भाडादरभन्दा बढी रकम असुल गरी उडान सञ्चालन गरेमा त्यसलाई कसुर मान्ने प्रस्ताव गरिएको हो।
प्रस्तावित व्यवस्थाअनुसार स्वीकृत भाडादरभन्दा बढी रकम असुल गर्ने वायुसेवा कम्पनीलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ।
यात्रुमाथि पर्ने अतिरिक्त आर्थिक भार तथा हवाई टिकटमा हुने अनियमितता नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
विधेयक पारित भई कार्यान्वयनमा आएमा तोकिएको भाडादरभन्दा बढी रकम असुल गर्ने वायुसेवा कम्पनीमाथि कानुनी कारबाही गर्न थप आधार तयार हुने अपेक्षा गरिएको छ।
