ग्यास आपूर्ति सहज बनाउन सेनालाई उद्योग खोल्न सरकारको प्रस्ताव
ग्यास आपूर्ति सहज र नियमित बनाउन सरकारले नेपाली सेनालाई ग्यास उद्योग सञ्चालन गर्न दिने प्रस्ताव अघि सारेको छ। यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाली सेनाबीच प्रारम्भिक छलफलसमेत भएको छ।
सरकारले सेनाको कल्याणकारी कोषमार्फत विभिन्न स्थानमा ग्यास प्लान्ट सञ्चालन गर्ने योजना अघि सारेको हो। सेनाले व्यावसायिक कार्ययोजना पेश गरेपछि आवश्यक प्रक्रिया पूरा गरी उद्योग सञ्चालनको लाइसेन्स दिने पक्षमा नेपाल आयल निगम रहेको छ।
निगमका अधिकारीहरूका अनुसार अनुमति प्राप्त भए पनि ग्यास उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, निरीक्षणलगायतका प्रक्रिया पूरा गर्न कम्तीमा ६ महिना लाग्न सक्नेछ।
ग्यास आपूर्तिमा संकट उत्पन्न हुँदा सरकारी संयन्त्रमार्फत आपूर्ति व्यवस्थालाई थप बलियो र प्रभावकारी बनाउन यस्तो योजना अघि सारिएको मन्त्रालयको भनाइ छ।
यसैबीच, सरकारले सर्लाहीमा ठूलो क्षमताको ग्यास भण्डारगृह निर्माण गर्ने योजना पनि अघि बढाएको छ। ग्यासको भण्डारण क्षमता विस्तार गरी आपूर्ति प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउने सरकारको तयारी छ।
