प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल प्रिमियर लिग (एनपीएल) का लागि शुभकामना व्यक्त
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटका खेलाडी, आयोजक तथा क्रिकेट संघ नेपाल (क्यान) लाई शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् ।
उनले लिगमा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र क्यानलाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन् ।
‘नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ र केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।
उनले नेपाली क्रिकेटको निरन्तर प्रगतिको कामना गर्दै ‘लङ लिभ नेपाली क्रिकेट’ भन्दै नेपाली क्रिकेटको उज्ज्वल भविष्यका लागि शुभेच्छा व्यक्त गरेका छन् ।
