प्रदेश

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई तीन दलको पत्र

शेयरfFacebook𝕏XWhatsAppTelegram

प्रतिपत्र संवाददाता (पोखरा)

कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन बुझाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल चलाउनका लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तीन दलले गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयका सचिव बास्तोलालाई निवेदन बुझाएका हुन् । बिहीबार दिउँसो निवेदन लिएर गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका नेता हरि चुमान र जसपाका नेता हरिशरण आचार्यलगायतका नेता प्रदेश प्रमुखको कार्यालय गएका थिए ।

बिहीबार संसद् सचिवालयमा १ बजेर ३५ मिनेटमा २८ जना सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको हो । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्ताव दर्ता हुने थाहा पाएपछि प्रदेशसभाको चालू अधिवेशन रातारात अन्त्य गरिएको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका थिए । प्रदेश अधिवेशन अन्त्य गरेपनि २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ । संविधानको धारा १८३ को उपधारा ३ मा ‘प्रदेशप्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्न सक्ने’ उल्लेख छ ।

0 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *