पशुपति शर्मा प्रतिष्ठानको अध्यक्षमा भिड्दै, सर्वसम्मतिको सम्भावना
चर्चित लोकदोहोरी गायक तथा सर्जक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्ष पदका लागि अघि सर्ने भएका छन्। प्रतिष्ठानको आगामी महाधिवेशन नजिकिँदै गर्दा शर्माको अध्यक्ष पदमा उम्मेदवारीबारे कलाकार तथा प्रतिनिधिहरूबीच छलफल भइरहेको छ ।
प्रतिष्ठानको महाधिवेशन यही असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा हुँदैछ । शर्मालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने सम्भावनासमेत रहेको बताइएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–५ घर भएका शर्मा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय छन् । गायनसँगै गीत लेखन तथा सिर्जनामा समेत सक्रिय उनले नेपाली समाज, ग्रामीण जीवन, सामाजिक विकृति–विसंगति तथा समसामयिक विषयलाई आफ्ना सिर्जनामार्फत प्रस्तुत गर्दै आएका छन् ।
‘क्याम्पस पढ्न आउनी’, ‘मलाई अमेरिका यहीँ’ लगायतका उनका सिर्जना नेपाली लोकदोहोरी क्षेत्रमा चर्चित छन् । देशका विभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रमसँगै विदेशमा आयोजना हुने नेपाली समुदायका कार्यक्रम तथा सांगीतिक मञ्चमासमेत शर्मा निरन्तर सक्रिय रहँदै आएका छन् ।
कलाकारितासँगै संस्थागत गतिविधिमा पनि उनको सक्रियता लामो छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका शर्मा हाल केन्द्रीय वरिष्ठ उपाध्यक्षको भूमिकामा छन् । संस्थाभित्रको लामो अनुभव र कलाकारिताको यात्राका कारण उनको सम्भावित उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।
शर्माको नेतृत्वमा लोकदोहोरी क्षेत्रको मौलिकता र गुणस्तरको विषयले समेत प्राथमिकता पाउने अपेक्षा गरिएको छ । पछिल्लोसमय लोकदोहोरीका नाममा प्रस्तुत हुने अश्लील तथा छाडा प्रकृतिका गीत–सामग्रीप्रति प्रश्न उठ्दै आएको अवस्थामा यस्ता सामग्रीलाई निरुत्साहित गर्दै लोकदोहोरीको मर्यादा, मौलिकता र सामाजिक उत्तरदायित्व कायम गर्नुपर्ने बहस पनि प्रतिष्ठानभित्र महत्वपूर्ण बन्ने देखिन्छ ।
लोकदोहोरी मनोरञ्जनको माध्यम मात्र नभई नेपाली समाज, संस्कृति र मौलिकताको प्रतिनिधित्व गर्ने विधा भएकाले सिर्जनामा कलात्मकता र सामाजिक जिम्मेवारी कायम गर्नुपर्ने मत कलाकारहरूबीच उठ्दै आएको छ। सम्भावित नेतृत्वका रूपमा शर्मासामु पनि लोकदोहोरीको गुणस्तर सुधार, कलाकारको हकहित र पछिल्लो पुस्तालाई मौलिक लोकसंगीतसँग जोड्ने चुनौती रहनेछ ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै कलाकारको हकहित, प्रतिष्ठानको संस्थागत सुदृढीकरण, लोकदोहोरी क्षेत्रको व्यावसायिक विकास तथा नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।
