Thursday, २२ October २०२६
कला-साहित्य

लोक गायक घनश्याम रिजालले प्रतिष्ठानको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने

लोक गायक घनश्याम रिजालले प्रतिष्ठानको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने

स्याङ्जाको वालिङ नगरपालिका–४ मा जन्मिएका लोक गायक तथा सर्जक घनश्याम रिजालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिको उपाध्यक्ष (खुलातर्फ) पदमा उम्मेदवारी दिने भएका छन् । प्रतिष्ठानकाे १५ ओैँ महाधिवेशन विहीवारदेखि महाेत्तरीकाे वर्दिवासमा सुरू हुँदै छ ।

२०६० सालदेखि निरन्तर नेपाली गीत–संगीतको क्षेत्रमा सक्रिय रिजालले लोक तथा दोहोरी गीत क्षेत्रको संस्थागत यात्रामा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी गण्डकी अञ्चल कार्यसमितिको संस्थापक सदस्य हुँदै सहसचिव, सचिव र महासचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

त्यसैगरी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिको सदस्य हुँदै केन्द्रीय सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका रिजालले अहिले केन्द्रीय उपाध्यक्ष पदका लागि उम्मेदवारी प्रस्तुत गर्न लागेका हुन्।

सिर्जनात्मक क्षेत्रमा पनि रिजालको निरन्तर योगदान रहँदै आएको छ। हालसम्म उनले दुई सयभन्दा बढी नेपाली गीत–संगीतका सिर्जना गरिसकेका छन् भने उनका २० वटाभन्दा बढी एल्बम आफ्नै नाममा प्रकाशित छन्।

संस्थागत तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रिजाल हाल स्याङ्जा स्रष्टा सदनका महासचिव, स्याङ्जा विकास केन्द्रका महासचिव, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सल्लाहकार तथा प्रतिष्ठान स्याङ्जाका जिल्ला सल्लाहकारलगायत विभिन्न जिम्मेवारीमा छन्।

दुई दशकभन्दा लामो सांगीतिक तथा संस्थागत यात्रालाई निरन्तरता दिँदै आएका रिजालले नेपाली लोक तथा दोहोरी गीतको विकास, कलाकारको हित र संस्थागत गतिविधिलाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी अघि सारेका छन् ।

घनश्याम रिजालका ७ प्रतिबद्धता :

१. आर्थिक पारदर्शिता
संस्थाको आय–व्ययलाई व्यवस्थित, पारदर्शी र सदस्यहरूप्रति जवाफदेही बनाउँदै आर्थिक विवरण सार्वजनिक गर्ने प्रणालीको विकास गर्ने।

२. विकृति न्यूनीकरण र गीत–संगीतको मर्यादा संरक्षण
नेपाली गीत–संगीत क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई न्यूनीकरण गर्दै सिर्जना, श्रष्टा र कलाकारको सम्मान तथा पेशागत मर्यादा कायम गर्न प्रभावकारी अभियान सञ्चालन गर्ने।

३. केन्द्र–प्रदेश–जिल्लाबीच प्रभावकारी समन्वय
केन्द्रमा मात्र सीमित नभई प्रदेश र जिल्ला शाखालाई संस्थाको बलियो आधारका रूपमा विकास गर्दै केन्द्र, प्रदेश र जिल्लाबीच नियमित संवाद, सहकार्य र समन्वयको प्रभावकारी संयन्त्र निर्माण गर्ने।

४. विदेश विभागलाई संस्थागत र सक्रिय बनाउने
विदेशमा रहेका नेपाली कलाकार तथा शाखासँगको सम्बन्धलाई औपचारिकतामा सीमित नराखी नियमित संवाद, सांस्कृतिक आदान–प्रदान, प्रशिक्षण तथा सिर्जनात्मक कार्यक्रममार्फत विदेश विभागलाई व्यवस्थित र प्रभावकारी बनाउने।

५. अग्रजको सम्मान, नयाँ प्रतिभालाई अवसर
अग्रज कलाकारको अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताका प्रतिभालाई खोजी, प्रशिक्षण, अवसर र प्रोत्साहन दिने कार्यक्रमलाई संस्थाको प्राथमिकतामा राख्ने।

६. डिजिटल युगमा सिर्जनाको अधिकार संरक्षण
AI तथा डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै कलाकार र श्रष्टाको सिर्जना अनधिकृत रूपमा प्रयोग, रूपान्तरण वा प्रकाशन हुने अवस्थालाई न्यूनीकरण गर्दै सिर्जनाको मौलिकता, कपीराइट र रोयल्टी संरक्षणका लागि संस्थागत पहल गर्ने।
‘जसको सिर्जना, उसकै अधिकार ।’

७. कलाकारको आवाजलाई संस्थाको नीतिसँग जोड्ने
देश–विदेशमा रहेका कलाकार तथा सदस्यका सुझाव, समस्या र आवश्यकतालाई प्रत्यक्ष सुन्न ‘कलाकार नीति संवाद’ सञ्चालन गरी प्राप्त सुझावलाई संस्थाको वार्षिक नीति तथा कार्यक्रममा समेट्ने ।

मुख्य संकल्प:
पदका लागि होइन, संस्थाको सुधार र कलाकारको हितका लागि ।

संस्था बलियो भए कलाकार बलियो हुन्छन्, कलाकार बलियो भए नेपाली गीत–संगीत बलियो हुन्छ ।