पोखरा महानगरपालिका–१७, बिरौटामा एक पुरुषले अधबैंसे महिलामाथि चक्कु प्रहार गरेका छन् ।
आज अपराह्न ४ बजेर ७ मिनेटतिर चौतारी क्षेत्रमा भएको घटनामा अन्दाजी ४० वर्षीय पुरुषले ती महिलाको कम्मर, ढाडलगायत शरीरका विभिन्न भागमा अन्धाधुन्ध चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनापछि स्थानीयवासीले तत्कालै हस्तक्षेप गर्दै मास्क लगाएका ती पुरुषलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले कुटपिटसमेत गरी उनलाई चक्कुसहित केही सेकेन्डमै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको जनाइएको छ।
घाइते महिलालाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनामा संलग्न पुरुष र घाइते महिलाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।घटनाको कारण र थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


