वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको संख्या बढाउन तथा आवश्यक कच्चा पदार्थका रूपमा रहेका जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन र उपयोगका लागि कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तरक्रिया’पछि वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो।
स्वास्थ्य सल्लाहकार डा. अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल गठन गरी तीन महिनाभित्र कार्यान्वयनयोग्य विकासको खाका तयार गरेर काम अघि बढाउनुपर्नेमा जोड दिए।
उनले भने, “समितिको विकासका लागि जडीबुटीको दिगो संकलनका साथै सम्बन्धित विभिन्न निकायबीच आवश्यक समन्वय र सहजीकरण गर। तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजनासहित काम गर्नुपर्नेछ।”
डा. अग्रवालले तत्कालका लागि मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गर्दै वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउनुपर्ने र आगामी दिनमा उत्पादित औषधि विदेशमा समेत निर्यात गर्ने गरी योजना बनाउनुपर्ने बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चा पदार्थका रूपमा प्रयोग हुने जडीबुटी संकलनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए।
उनले भने, “कच्चा पदार्थको सदुपयोगका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर। त्यसका लागि कानूनमा पनि सुधार आवश्यक छ। औषधिजन्य वनस्पतिको खेतीदेखि संकलन र उपभोगसम्म स्पष्ट कानून निर्माण गर्न ढिलाइ नगर।”
गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेदिक औषधिका लागि आवश्यक कच्चा पदार्थको संकलन र उपयोगका विषयमा मन्त्रालयबाट आवश्यक सहजीकरण गर्ने बताए।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी संकलनका लागि सरोकारवाला निकायबीच समन्वय र कानूनी स्पष्टता आवश्यक रहेको बताए।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटीको उत्पादन बढाउन किसानसँग सहकार्य गर्दै ‘ट्रक फार्मिङ’मा जानुपर्ने बताए। उनले जडीबुटी कम्पनीहरूसँग समेत बढीभन्दा बढी सहकार्य गर्नुपर्नेमा जोड दिए।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी निमित्त महाप्रबन्धक उषा रिजाल (जोशी)ले आयुर्वेदिक औषधि उत्पादनमा कच्चा पदार्थ नै मुख्य समस्या रहेको बताइन्। ठूलो मात्रामा जडीबुटी उत्पादन गर्न सकिए मात्रै कम्पनीको विकास गर्न सकिने उल्लेख गर्दै उनले कच्चा पदार्थमा मूल्य समर्थन निर्धारण गरिए संकलनमा सहज हुने बताइन्।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा रहेका जडीबुटीको संकलन र उपयोगका लागि विद्यमान कानूनमा सुधार आवश्यक रहेको बताए। सामुदायिक वनबाट सालको पात टिपेर दुनाटपरी बनाउनसमेत कानूनी जटिलता रहेको उल्लेख गर्दै उनले कानून सुधार गर्नुपर्ने बताए।
वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले जडीबुटीको उत्पादन बढाउन सार्वजनिक खरिद ऐनलगायत केही कानून परिमार्जन गर्नुपर्ने बताए।
छलफल तथा अन्तरक्रियाका क्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले सिंहदरबार वैद्यखाना विकास समितिको वर्तमान अवस्था, समस्या तथा सुधारका सम्भावनाबारे प्रस्तुतीकरण गर्दै समस्या समाधानका लागि आवश्यक सुझावसमेत पेस गरेका थिए।
