TikTok मा सस्तो कपडाको प्रलोभन देखाएर ठगी गर्ने १७ वर्षीय बालक पक्राउ
सामाजिक सञ्जाल TikTok मा सस्तो मूल्यमा कपडा बिक्री गर्ने भन्दै ग्राहकबाट रकम असुली तथा OTP कोडसमेत लिएर ठगी गरेको आरोपमा कास्की प्रहरीले १७ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार TikTok मा ‘Sandhya Collection’ नामको आईडी बनाएर विभिन्न प्रकारका कपडा सस्तो मूल्यमा बिक्रीमा राख्ने गरिएको थियो। कपडा खरिद गर्न इच्छुक ग्राहकलाई WhatsApp मार्फत सम्पर्क गराई रकम पठाउन लगाउने र त्यसपछि रकम प्राप्त नभएको भन्दै OTP कोड मागेर ठगी गर्ने गरेको आरोप छ ।
यसरी ठगी भएको भन्दै परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र नेपाल प्रहरी साइबर ब्युरो, भोटाहिटीको समन्वयमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएको WhatsApp नम्बरको IP Address पत्ता लगाउने क्रममा घटनामा धनुषाको जनकनन्दिनी गाउँपालिका–१ का १७ वर्षीय बालक संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीको सहयोगमा कास्की प्रहरीले उनलाई असोज १९ गते आफ्नै घरबाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट ठगीमा प्रयोग भएको दुई थान मोबाइल, सामसुङ कम्पनीको एक थान ट्याब र एक थान Wi-Fi राउटर बरामद गरेको छ ।
पक्राउ परेका बालकलाई कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार ठगीका क्रममा सिद्धार्थ बैंक, गरिमा विकास बैंक, एनएमबी बैंकका बैंक खाता तथा ईसेवा वालेट प्रयोग भएको पाइएको छ ।
यी बैंक खाता वा ९७०८४७१९११ नम्बरको WhatsApp मार्फत आफू पनि ठगीमा परेको भए जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
