सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, चार घाइते र तीन बेपत्ता
सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते र तीन जना बेपत्ता भएका छन्।
आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई उद्धार गरी प्रारम्भमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा पठाइएको थियो। उनीहरूलाई थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।
दुर्घटनामा घाइते हुनेमा जिप चालक ओखलढुंगाका करिब २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जनाको प्रहरी टोली तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको छ।
प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुनकोशी नदीमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। मृतक तथा बेपत्ता व्यक्तिहरूको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
