Thursday, २२ October २०२६
प्रदेश

बुढीगण्डकी बाढीमा नेपाली सेनाको सक्रियता : १ हजार २४ जनाको उद्धार

बुढीगण्डकी बाढीमा नेपाली सेनाको सक्रियता : १ हजार २४ जनाको उद्धार

बुढीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोपछि गोरखाका प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार, खोजी तथा राहत वितरण कार्यलाई तीव्र बनाएको छ । दुर्गम भूगोल, क्षतिग्रस्त सडक तथा पुल र अवरुद्ध यातायातका बीच सेनाले हेलिकप्टर र पैदल टोली परिचालन गरी जोखिममा परेका नागरिकको उद्धारसँगै प्रभावित बस्तीमा राहत सामग्री पुर्‍याइरहेको छ।

असोज २५ गते चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको थियो । बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सतर्क गराइएको थियो । नदीमा बाढी आएको जानकारी प्राप्त हुनासाथ नेपाली सेनाले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै उद्धारका लागि फौज परिचालन गरेको थियो ।

हेलिकप्टरबाट १ हजार २४ जनाको उद्धार

नेपाली सेनाको विवरणअनुसार असोज २५ देखि २८ गतेसम्म नेपाली ९७१ र विदेशी ५३ गरी कुल १ हजार २४ जनाको उद्धार गरिएको छ। असोज २८ गते मात्रै चार विदेशी नागरिकसहित ४४१ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ।

उद्धार कार्यका लागि सेनाले NA065 BELL, MI-17 र AGUSTA NA058 हेलिकप्टर परिचालन गरेको थियो । ती हेलिकप्टरमार्फत चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न प्रभावित क्षेत्रमा उद्धार तथा राहत ढुवानी गरिएको हो । सडक सम्पर्क विच्छेद भएका र पैदल आवतजावतसमेत कठिन भएका बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन हवाई उद्धारलाई प्राथमिकता दिइएको थियो ।

चुमनुब्री गाउँपालिका–३ को सिर्दिवास र फिलिम क्षेत्रलाई आधार बनाएर उद्धार तथा राहत अभियान सञ्चालन गरिएको थियो। रुद्रध्वज गण, आरुघाटस्थित ट्याक्टिकल हेडक्वार्टर तथा विभिन्न सुरक्षा बेसबाट परिचालित टोलीले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणलाई निरन्तरता दिएका थिए ।

प्रभावित क्षेत्रमा पुगेर पृतनापतिको निरीक्षण

बाढीबाट भएको क्षति र उद्धार कार्यको अवस्था बुझ्न पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा असोज २७ गते प्रभावित क्षेत्रमा पुगेका थिए । उनले आरुघाट गाउँपालिकामा स्थापना गरिएको ट्याक्टिकल हेडक्वार्टरको निरीक्षण गर्नुका साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग छलफल गरेका थिए ।

नेपाली सेनाको NA065 BELL हेलिकप्टरमार्फत आरुघाट, हुलचुक र फिलिमलगायतका क्षेत्रको हवाई तथा स्थलगत निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा उद्धारमा खटिएका सैनिकलाई आवश्यक निर्देशन दिइएको सेनाको विवरणमा उल्लेख छ ।

विपद् व्यवस्थापन र उद्धार कार्यलाई समन्वयात्मक रूपमा अघि बढाउन नं. ३ बाहिनीका बाहिनीपति सन्तोष कार्कीको कमान्डमा आरुघाट क्षेत्रमा ट्याक्टिकल हेडक्वार्टर स्थापना गरिएको थियो। प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै उद्धार टोलीबीच समन्वय कायम गर्न सञ्चार सवारीसाधन र रिपिटरसमेत सञ्चालनमा ल्याइएको थियो ।

विभिन्न गण तथा सुरक्षा बेसबाट परिचालन

उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सेनाले विभिन्न बाहिनी, गण तथा सुरक्षा बेसबाट जनशक्ति परिचालन गरेको थियो। आरुघाटस्थित ट्याक्टिकल हेडक्वार्टरमा नं. ३ बाहिनी, नं. १४ बाहिनी, महावीर शौर्य गण रेन्जर र युद्धभैरव गणका टोली परिचालन गरिएका थिए ।

थप जनशक्ति परिचालन गर्ने क्रममा तनहुँको हात्तिचौर ब्यारेकस्थित भद्रदल गणबाट ३४ जना र चापाघाट ब्यारेकस्थित कालीभञ्जन गणबाट २९ जना सैनिक पठाइएको विवरणमा उल्लेख छ । उनीहरूलाई आवश्यक व्यवस्थापनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो ।

रुद्रध्वज गण, आरुघाटस्थित ट्याक्टिकल हेडक्वार्टर तथा अर्मला, माछाखोला र बाङसिङका सुरक्षा बेसबाट खटिएका टोलीले चुमनुब्री, धार्चे र आरुघाटका विभिन्न क्षेत्रमा उद्धार तथा राहत वितरण गरेका थिए। यसका अतिरिक्त नं. १० बाहिनीअन्तर्गतको विशेष फौज बाहिनीबाट समेत हेलिकप्टरमार्फत उद्धार कार्यका लागि जनशक्ति परिचालन गरिएको थियो ।

दुर्गम क्षेत्रमा सञ्चार सम्पर्क कायम

भौगोलिक विकटताका कारण उद्धार कार्यमा सञ्चार सम्पर्क चुनौतीपूर्ण हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सेनाले छुट्टै सञ्चार टोली परिचालन गरेको थियो। नं. ३ सिग्नल गुल्मबाट सहसेनानी विकासकुमार श्रेष्ठको कमान्डमा पाँच जनाको टोली आवश्यक सञ्चार उपकरणसहित ट्याक्टिकल हेडक्वार्टरमा खटिएको थियो ।

उक्त टोलीले डिजिटल तथा एनालग रेडियो सेट, रिपिटर, VHF तथा UHF रेडियो, स्याटेलाइट फोनलगायतका उपकरण प्रयोग गरी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क कायम गरेको थियो । पश्चिम पृतना हेडक्वार्टर, नं. ३ बाहिनी अड्डा र रुद्रध्वज गण हेडक्वार्टरबीच HF रेडियोमार्फत सम्पर्क स्थापित गरिएको थियो ।

यस व्यवस्थाले दुर्गम क्षेत्रमा परिचालित सैनिक टोलीबीच सूचना आदानप्रदान, उद्धार कार्यको समन्वय तथा राहत सामग्री ढुवानी व्यवस्थापनमा सहयोग पुर्‍याएको सेनाले जनाएको छ ।

हवाई माध्यमबाट १८ हजार ५८५ किलो राहत सामग्री

उद्धारसँगै प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न नेपाली सेनाले खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री ढुवानी गरेको छ। असोज २८ गते थप ६६० किलो राहत सामग्री पुर्‍याइएसँगै हवाई माध्यमबाट गोरखाको फिलिमसम्म ढुवानी गरिएको राहत सामग्रीको कुल परिमाण १८ हजार ५८५ किलो पुगेको सेनाको विवरणमा उल्लेख छ।

फिलिम पुर्‍याइएको राहत सामग्री चुम्लिङ, जगत, सल्लेरी, चुम्चेत, न्याकचेत र आरुघाटलगायतका प्रभावित क्षेत्रमा वितरण गरिएको थियो। बाढीका कारण सडक तथा पुलमा क्षति पुग्दा यातायात अवरुद्ध भएकाले हवाई ढुवानीमार्फत राहत पुर्‍याउनु प्रभावकारी माध्यम बनेको छ।

दुर्गम बस्तीमा खाद्यान्नलगायतका आवश्यक सामग्रीको अभाव हुन नदिन र प्रभावित नागरिकलाई तत्काल सहयोग उपलब्ध गराउन सेनाले हवाई तथा स्थलमार्गबाट राहत वितरणको काम अघि बढाएको हो।

सात पुलमा क्षति, यातायातमा समस्या

बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानीय तहमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण सातवटा पुलमा क्षति पुगेको विवरण उल्लेख गरिएको छ। पुल तथा सडकमा भएको क्षतिले आवतजावत र राहत सामग्री ढुवानीमा समस्या सिर्जना गरेको छ।

यातायात सम्पर्क प्रभावित हुँदा कतिपय बस्तीमा नियमित रूपमा राहत पुर्‍याउन कठिन भएको छ। यस्तो अवस्थामा नेपाली सेनाले हेलिकप्टर, पैदल टोली तथा उपलब्ध सवारीसाधनको प्रयोग गरी उद्धार र राहत वितरणलाई निरन्तरता दिएको छ।

बाढीपछि प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न तथा आवश्यक राहत उपलब्ध गराउन सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय आवश्यक देखिएको छ। क्षतिग्रस्त संरचना र अवरुद्ध यातायातका कारण चुनौतीपूर्ण बनेको उद्धार अभियानमा नेपाली सेनाको जनशक्ति तथा हवाई साधनको परिचालनले प्रभावित नागरिकसम्म पुग्ने प्रयासलाई गति दिएको छ।